देश

प्रधानमन्त्री उद्धार कोषमा कांग्रेस र एमालेको तर्फबाट एक करोड जम्मा

काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग गरेको छ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

सभापति देउवाले प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालीनरुपमा गर्नुपर्ने कामबारे ३४ बुँदे सुझावपत्र पनि प्रधानमन्त्रीलाई बुझाए । प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसले दिएको उक्त सुझाव मननीय भएको बताए । उनले विपद्ले कुनै जात, उमेर र धर्म नभनी सबैलाई सङ्कटमा पार्ने भएकाले साझा दायित्व सम्झिएर यसको सामना मिलेर गर्ने कार्यमा सरकारले अगुवाइ गर्नेमा विश्वास दिलाए ।

नेपाली कांग्रेसले विपद्को सामना मिलेर गर्न र भविष्यमा आउने विपदको पूर्व तयारी गर्न एकता र एकताबद्ध भवनाका साथ लाग्न सरकारलाई आग्रह गरेको छ । त्यस अवसरमा गृहमन्त्री रमेश लेखक, सो दलका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मालगायत सहभागी थिए ।

एमालेद्वारा प्रधानमन्त्री उद्धार कोषमा पचास लाख हस्तान्तरण

काठमाडौं । नेकपा (एमाले) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न ५० लाखको चेक हस्तान्तरण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई भेटेर एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितको टोलीले उक्त चेक हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा प्रधानमन्त्री ओलीले साझा दायित्व सम्झिएर विपद्को सामना गर्नुपर्ने र यसको अगुवाइ सरकारले गर्ने बताए । तीनै तहका सरकार र राज्यका निकाय परिचालित भएर विपद्को सामना भइरहेको प्रधानमन्त्री ओलीले बताए ।

एमालेको असोज १५ गतेको सचिवालय तथा संसदीय दलको बैठकले उक्त कोषमा रु पचास लाख र सांसदहरूको आधा महिनाको तलब बराबरको रकम बेग्लै प्रदान गर्ने निर्णय गरेको थियो ।

उक्त अवसरमा गृहमन्त्री रमेश लेखक, एमालेका महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, पृथ्वीसुब्बा गुरुङ, सचिव रघुवीर महासेठलगायतका नेताहरु सहभागी थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *