काठमाडौं।बाङ्ग्लादेशले नेपालबाट किन्ने बिजुलीको प्रति युनिट भाउ स्वीकृत गरेसँगै नेपालले तेस्रो मुलुकमा विद्युत् निर्यात गर्न पाउने ‘ढोका खुलेको’ ऊर्जा अधिकारीहरूले बताएका छन्।उनीहरूका भनाइमा नेपालबाट भारतको बाटो हुँदै बाङ्ग्लादेश पठाइने जलविद्युत्का लागि त्रिदेशीय समझदारी बनिसकेकाले अब केही साताभित्रै सम्झौता हुने सम्भावना छ।
नेपाल, भारत र बाङ्ग्लादेशका विद्युतसम्बन्धी निकायहरूबीच हुने उक्त त्रिपक्षीय सम्झौताले नेपाललाई लामो समयसम्म प्रभाव पार्ने गरी अवसरको ढोका खोल्ने अधिकारीहरूको भनाइ छ।यद्यपि कतिपय ऊर्जा विज्ञ “यो सकारात्मक कुरा हुँदाहुँदै नेपालबाट बाङ्ग्लादेशसम्म बिजुली नपुगी विश्वस्त हुन नसकिने” बताउँछन्।
बाङ्ग्लादेशको निर्णय
बाङ्ग्लादेशको क्याबिनेट कमिटी अन गभरन्मेन्ट पर्चेज (सीसीजीपी) को बैठकले यसै साता नेपालबाट पाँच वर्षका लागि ४० मेगावाट विद्युत् खरिद गर्ने निर्णय गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।स्थानीय सञ्चारमाध्यमहरूमा उक्त बैठकपछि क्याबिनेट डिभिजनका सचिव महम्मुदुल हुसेन खानले संवाददाताहरूलाई त्यस्तो जानकारी दिएको उल्लेख छ।
बाङ्ग्लादेशको पावर डेभलपमेन्ट बोर्ड (बीपीडीपी)ले त्रिपक्षीय सम्झौता अन्तर्गत नेपालबाट विद्युत् आयात गर्ने उनले बताएका थिए।नेपाल विद्युत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड (एनभीभीएन) र बाङ्ग्लादेशको बीपीडीपीबीच विद्युत् आदानप्रदानसम्बन्धी एउटा समझदारी बनिसकेको अधिकारीहरूले बताउँदै आएका छन्।
उक्त समझदारी अनुसार नेपालबाट भारतका विद्युतीय पूर्वाधारहरू प्रयोग गरेर बाङ्ग्लादेशसम्म बिजुली पठाइने छ। त्यसैका लागि त्रिपक्षीय सम्झौता आवश्यक पर्ने अधिकारीहरूले बताउँदै आएका छन्।
बाङ्ग्लादेशले कति मूल्यमा किन्दैछ नेपाली बिजुली?
भारतीय पूर्वाधार प्रयोग गरेबापत एनभीभीएनलाई निश्चित रकम तिर्नुपर्ने हुन्छ।त्यसलाई ‘ह्वीलिङ चार्ज’ भन्ने गरिन्छ। त्यस्तो रकम बाङ्ग्लादेशले नै बेहोर्ने समझदारी भइसकेको बताइएको छ।
नेपालको बिजुली प्रति युनिट ८.१७ बाङ्ग्लादेशी टाका अर्थात् नेपाली ९ रुपैयाँ ३१ पैसामा बाङ्ग्लादेशले किन्ने निर्णय गरेको खानले संवाददाताहरूलाई बताएका छन्।नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले नेपालले पठाएको प्रस्ताव अनुरूप नै बिजुलीको दर स्वीकृत भएको भन्ने खबरहरू आफूले पनि देखेको बताए।
“बाङ्ग्लादेशी मिडियामा त्यस्तै समाचारहरू आइरहेका छन्। हामीलाई आधिकारिक रूपमा जानकारी आइसकेको छैन तर अब लगभग सम्झौता हुन मात्र बाँकी रहेको अवस्था हो,” उनले भने।
‘व्यापारको बृहत् ढोका खुल्ने’
बाङ्ग्लादेशसँगको ऊर्जा सम्झौताले नेपालका लागि व्यापारको बृहत् सम्भावनाको ढोका खोल्ने घोषले बताए।उनले भने, “यो सानो कदम हो तर यसले हाम्रो बृहत् व्यापारको ढोका खोल्न मद्दत गर्छ।””हेर्दा थोरै विद्युत् पठाउने जस्तो देखिए पनि यसले हामीलाई दीर्घकालीन फाइदा दिनेछ।”उनले अब चाँडै नेपाल, भारत र बाङ्ग्लादेशका निकायबीच त्रिपक्षीय सम्झौता हुने तयारी भइरहेको जानकारी दिए।
सम्झौता कहिले होला?
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता नवीनराज सिंहका अनुसार नेपाल र बाङ्ग्लादेशका ऊर्जा सचिवस्तरीय द्विपक्षीय संयन्त्रको बैठकका बेलामा उक्त सम्झौता गर्ने तयारी छ।
यही जुन २३ र २४ तारिखमा नेपाल र बाङ्ग्लादेशका सहसचिवस्तरीय कार्यसमूह र सचिवस्तरीय संयन्त्रको बैठक तय गरिएको थियो।तर सम्झौताका लागि अब उक्त बैठक पनि पछि सारिने उनले बताए।
“अब ऊर्जा आदानप्रदानबारे पनि सम्झौता गर्नुपर्ने भएकाले हामीले त्यसका लागि जुलाई पहिलो साताको समय तय गर्न लागेका छौँ। त्यसै अनुसार प्रस्ताव पनि हुनेछ,” सिंहले भने।
“सीसीजीपीको निर्णयपछि अब हामी अन्तिम चरणमा प्रवेश गर्यौँ र यो ऐतिहासिक अवसर भएकाले नेपाल र बाङ्ग्लादेशका ऊर्जामन्त्रीज्यूहरूको उपस्थितिमा यो सम्झौता गर्ने कुरा भएको छ।”
उनका भनाइमा त्रिपक्षीय सम्झौता भएकाले सीसीजीपीको निर्णयपछि अब तीनवटै देशका निकायहरूबीच सम्झौताबारे पत्रहरू आदानप्रदान गर्न समय लाग्ने भएकाले बैठक नै सारिएको हो।
‘सङ्केत राम्रो तर पनि शङ्का’
एकजना पूर्व जलस्रोत सचिव शीतलबाबु रेग्मीले ४० मेगावाट नै भए पनि पाँच वर्षका लागि बाङ्ग्लादेशले नेपालको बिजुली किन्ने निर्णय गर्नु एकदमै सकारात्मक भएको बताए।
यद्यपि उनले अझै शङ्का गर्ने ठाउँ रहेको बताए। रेग्मीले भने, “नेपालको बिजुली भारतको बाटो हुँदै बाङ्ग्लादेश पुग्यो भन्ने नहुन्जेल यसै भन्न चाहिँ सकिँदैन।”
“विगतमा पनि यस्ता कैयौँ सम्झौताहरू हुन लागे भन्दाभन्दै अन्तिम अवस्थामा हुन नसकेका उदाहरण छन्। त्यसैले मलाई त्यो शङ्का चाहिँ लाग्छ।”विशेषगरी भारतले कतिपय सम्झौताहरूलाई अन्तिम समयमा आएर अड्काएका उदाहरणहरू रहेको विज्ञहरू बताउँछन्।
नेपालले तेस्रो मुलुकमा बिजुली पठाउन पनि भारतीय पूर्वाधार प्रयोग गर्नुपर्ने भएकाले अहिले नै “भर पर्ने अवस्था नरहेको” विज्ञहरूले बताउँदै आएका छन्।
बाङ्ग्लादेश बिजुली निर्यात किन महत्त्वपूर्ण?
रेग्मी नेपालबाट बाङ्ग्लादेशमा बिजुली निर्यात हुन थाले त्यसले नेपालका लागि तेस्रो मुलुकमा बिजुली पठाउने बाटो खोल्ने बताउँछन्।
उनले भने, “चाहे थोरैभन्दा थोरै बिजुली नै किन नजाओस् त्यसरी पठाउन सकियो भने त्यसले नेपालका लागि एउटा बाटो पक्कै खोल्छ।”
उनले नेपालमा अहिले जलविद्युत् उत्पादन बढिरहेकाले पनि विशेषगरी बर्खायाममा नेपाललाई विद्युत बढी हुने अवस्था छ।
“त्यस्तोमा कि नेपालमा खपत बढाउन सक्नुपर्यो कि निर्यात गर्नुपर्यो। निर्यातका लागि भारतको मात्र भर परेर भएन तेस्रो मुलुकमा जाने बाटो खोज्नुपर्यो। त्यसका लागि यो एउटा सकारात्मक सुरुवात हुन्छ,” उनले भने।
अबको केही वर्षमै नेपालमा चार हजार मेगावाट जति बिजुली थपिने भएकाले पनि बाङ्ग्लादेशसँगको ऊर्जा व्यापाको महत्त्व गहिरो रहेको रेग्मी बताउँछन्।
वर्षौँको प्रयास
नेपाल र बाङ्ग्लादेशले वर्षौँदेखि विद्युत् खरिद बिक्रीका लागि प्रयास गर्दै आएका छन्।तर बाङ्ग्लादेशसँग सीमा नजोडिएको नेपालबाट त्यहाँसम्म बिजुली पुर्याउन भारतको बाटो प्रयोग गर्नुपर्ने हुँदा भारतीय सहमतिविना त्यो सम्भव थिएन।
गत वर्ष फेब्रुअरीमा भएको एउटा द्विपक्षीय ऊर्जा बैठकमा भारतीय अधिकारीहरू नेपाली बिजुलीलाई भारतीय बाटो र पूर्वाधार प्रयोग गरेर बाङ्ग्लादेश निर्यात गर्न दिन सहमत बनेका थिए।
भारतको राजस्थानमा भएको दुई देशका सचिवस्तरीय बैठकले गरेको उक्त निर्णयलाई नेपाली अधिकारीहरूले “वर्षौँको प्रतीक्षापछिको महत्त्वपूर्ण उपलब्धि” भनेका थिए।
उनीहरूले सोही सहमति अनुसार गत बर्खायामबाटै ५० मेगावाट विद्युत् बाङ्ग्लादेश पठाउन सकिने बताएका थिए।त्यस बेला नेपाल र भारत भारतीय लगानी रहेको ५२ मेगावाट क्षमताको लिखु-४ आयोजनाबाट विद्युत् बाङ्ग्लादेश पठाउन सहमत बनेको बताइएको थियो।
तर त्यसपछिका चरणबद्ध छलफलहरूपछि अहिले बाङ्ग्लादेशमा त्रिशूली जलविद्युत् आयोजनाबाट २३.२८ र तल्लो मोदी आयोजनाबाट १९.४० मेगावाट विद्युत् बाङ्ग्लादेशलाई बिक्री गर्ने सहमति बनेको बताइएको छ।
अधिकारीहरूका अनुसार अब ती आयोजनाबाट असारदेखि कात्तिकसम्म बाङ्ग्लादेशमा बिजुली पठाइने छ।नेपालमा बर्खायाममा बिजुली अधिक उत्पादन हुँदा खेर जाने अवस्था बन्ने गरेको छ।
नेपाल र भारतबीच बर्खामा भारतले नेपाली जलविद्युत् किन्ने र हिउँदमा अभाव भएका बेला नेपालले भारतीय बिजुली आयात गर्ने सहमति यसअघि नै कायम रहेको छ।नेपालमा चाहिनेभन्दा बढ्ता उत्पादन हुँदासम्म बाङ्ग्लादेशमा बिजुली पठाइरहने नेपाली अधिकारीहरूले बताएका छन्।
चालु आर्थिक वर्षको अन्त्यसम्ममा नेपालको ग्रीडमा थप पाँच सय मेगावाट विद्युत् थप हुने ऊर्जा अधिकारीहरू बताउँछन्। हाल नेपालको जडित क्षमता झन्डै तीन हजार मेगावाट छ।
गत वर्षदेखि नेपालले आफूकहाँ चाहिनेभन्दा धेरे विद्युत् हुँदा भारतको ऊर्जा बजारमा प्रतिस्पर्धा गरेर त्यहाँ विद्युत् बेचिरहेको छ।बजारको मागका आधारमा तय हुने मूल्य उक्त दिनको राति १२ बजेदेखि भोलिपल्ट १२ बजेसम्म लागु हुने गरेको छ। तर बाङ्ग्लादेशलाई भने स्थिर दरमा बिजुली बिक्री गर्ने बताइएको छ।
बीबीसी




