रिबन

अस्थिर राजनीतिको चंगुलमा भारत पनि !

विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको ठुलो र पुरानो लोकतान्त्रिक देश भारतमा सङ्घीय संसद् लोकसभाको निर्वाचन हालै सम्पन्न भएको छ र त्यसको परिणामसमेत प्राप्त भएर नयाँ सङ्घीय सरकार बन्ने तरखरमा छ । वर्तमान प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी नै तेस्रो पटक प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गर्दै छन् ।

आगामी आइतबार(जेठ २७गते)का दिन शपथ ग्रहण गर्ने भनेर अतिथिहरूलाई समेत आमन्त्रण गरिएको छ । भारतको राजनीतिक इतिहासमा लगातार नियमित ५ बर्से निर्वाचन जितेर तेस्रो पटक अविच्छिन्न प्रधानमन्त्री हुनेमा पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरु पछि अहिले नरेन्द्र दामोदरदास मोदी हुने भएका छन् । यो भारतको इतिहासमा नै दोस्रो ऐतिहासिक घटना बनेको छ ।

भारतको निर्वाचनले पार्न सक्ने वैश्विक प्रभाव र छिमेकीहरूमाथि पर्ने प्रभावका बारेमा अनुमान सुरु भएको छ । सबैको अनुमान के छ भने एकल भाजपाको बहुमतीय सरकारभन्दा गठबन्धनको वहुलमतीय सरकारको अवस्थामा सत्ता हाँक्न पक्कै मोदी सरकारलाई गाह्रो पर्नेछ । छिमेकीहरूको भारतप्रतिको आश र त्रासको सम्बन्धमा साँच्चै परिवर्तन आउने सम्भावना व्यक्त गर्न थालिएको छ तर विदेश मामिलामा भारतीय दृष्टिकोण सधैँ समान रहने पुरानो ढर्रामा नेपाल भारत सम्बन्धमा नै फरक देखिन थालेको थियो ।

विपक्षीहरूको कडा चुनौती र गठबन्धन संस्कृतिलाई मान्यता दिनु पर्ने बाध्यतामा भाजपा परेको छ र अति हिन्दुवादी प्रवृत्तिमा परिवर्तन आउने सङ्केत पाइन्छ । गठबन्धन हुनै पर्ने अवस्थाले प्रधानमन्त्रीको पद पनि मोदीका लागि मात्र निरापद् नरहने अवस्थामा राजनीतिक अस्थिरता र गठबन्धनका दलहरूलाई सधैँ खुसी पार्नु पर्ने अवस्थाले स्थान पाउने देखिन्छ । अहिले गठन हुनै लागेको मोदी सरकारको आयु जनता दल युनाइटेड र तेलगु देशम् पार्टीको हातमा रहेको पनि देख्न सकिन्छ ।

झन्डै एक अरब मतदाता रहेको भारतमा सङ्घीय संसद्को तल्लो सदन लोकसभामा ५४५ स्थानमध्ये ५४३ स्थानमा निर्वाचन हुन्छ र बाँकी दुई स्थानमा भारतका महामहिम राष्ट्रपतिबाट मनोनीत हुन्छ । विभिन्न मितिमा निर्वाचन हुँदै सात चक्रमा सम्पन्न भएको निर्वाचनको अन्तिम परिणाम जुन ४मा हुँदा कुनै पनि दलले एकलरुपमा बहुमत नल्याएको भए पनि गठबन्धनको रुपमा निर्वाचनमा होमिएका राष्ट्रिय लोकतान्त्रिक गठबन्धन—एन डी ए—ले आवश्यक पर्ने बहुमत २७२को अङ्कभन्दा बढी २९३ सांसदहरूको सङ्ख्या पुगेकाले गठबन्धनका प्रधानमन्त्रीका रुपमा मोदीले शपथ ग्रहण गर्ने भएका हुन् । त्यसो त भारतीय जनता पार्टीको एकल दलीय मत त मात्र २४० देखिन्छ । विहारका मुख्यमन्त्री नीतीश कुमार अध्यक्ष रहेको जनता दल युनाइटेड र आन्ध्र प्रदेशका चन्द्रबाबु नायडू अध्यक्ष रहेको तेलगु देशम् पार्टीको बलियो सहयोगमा सहभागी अन्य गठबन्धनका दलहरूको समर्थनमा मोदीको बहुमत पुगेको हो ।

यसभन्दा पहिलेको २०१४ / २०१९को निर्वाचनमा गठबन्धनमध्ये भारतीय जनता पार्टीकै बहुमत रहेको अवस्था थियो । तर यस पटक भारतीय काँग्रेसको नेतृत्वमा रहेको इन्डिया गठबन्धनले २३४ सङ्ख्यामा आफ्नो सांसद पु¥याउँदा भारतीय जनता पार्टीलाई ठुलो धक्का लागेको देखिन्छ । यसमा भारतीय काँग्रेसले ९९ , समाजवादी पार्टीको ३७ र तृणमूल काँग्रेसको २९ सहित विपक्षी गठबन्धनको उपस्थितिले सत्तामा रहने भारतीय जनता पार्टीको नेतृत्वको सरकारलाई लोकसभाको अङ्क पहिलेभन्दा चुनौतीपूर्ण रहने छ ।

स्वतन्त्ररुपमा जितेका १६ जनामध्ये कति सत्तापक्षीय हुने र कति विपक्षमा देखिने भन्ने पनि महत्त्वपूर्ण सवाल आफैँमा अनुत्तरित छ किनभने सत्तापक्षका मुख्य दलहरूमध्ये दुईओटा दलले अहिलेको विपक्षीहरूलाई साथ दिने अवस्थामा स्वतन्त्र विजेताहरूको गणनाले काम गर्नेछ । भारतमै हो आया राम गया राम भन्ने चलन चलेको हो र नीतिश—चन्द्रबाबु जोडीले कुनै पनि बेला भाजपासँगको सम्बन्ध टुटाउने सम्भावना रहेको बताउने राजनीतिक पर्यवेक्षकहरू भारतको हालको राजनीतिक गठबन्धनको भविष्य कुनै पनि बेला परिवर्तन हुने देख्छन् ।

२१ औँ शताब्दीको आधुनिकीकरणमा आशालाग्दो विकासोन्मुख देश भारतले आर्थिक समुन्नति र प्रविधिको क्षेत्रमा छलाङ् मार्दै गएको भारतको प्रगति लोभलाग्दो छ । तर सम्भावित राजनीतिक अस्थिरताले कहीँ विकासको मार्गमा अवरोध खडा नहोस् भन्ने बारेमा छिमेकीका नाताले चासो हुने नै भयो । नयाँ गठबन्धनको सरकारबाट नेपालले धरातलीय सत्यतामा आधारित द्विपक्षीय सम्बन्धको विकास र समानताका आधारमा कूटनीतिक सम्बन्धमार्फत स्थगित सीमा समस्याको छिटै समाधान होस् र आफ्ना पुराना विशिष्ट सम्बन्धहरूको पुनर्व्याख्या पनि होस् भन्ने अपेक्षा गर्नु मनासिब नै हुनेछ । यस तेस्रो पटक नियमित प्रजातान्त्रिक प्रक्रियामार्फत भारतका महान् जनताहरूले प्रधानमन्त्री हुने अवसर प्रदान गरेको ऐतिहासिक सत्तारोहणका लागि महामहिम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना सहित सफल कार्यकालको अपेक्षा गरिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *