काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणको तयारी तीव्र पारिएको छ। आगामी नोभेम्बरको तेस्रो सातातिर अर्थात् मंसिरको पहिलो वा दोस्रो सातामा भारत भ्रमण गराउने गरी तयारी अघि बढेको बताइएको छ। यद्यपि भ्रमणको औपचारिक मिति भने अझै तय भइसकेको छैन।
प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर नेपाल र भारतका अधिकारीहरूबीच आवश्यक समन्वय तथा छलफल भइरहेको छ। परराष्ट्र मन्त्रालयले विभिन्न मन्त्रालयसँग छलफल गरी भ्रमणका क्रममा उठाइने विषय र एजेन्डा संकलन गरिरहेको स्रोतले जनाएको छ। मन्त्रालयगत एजेन्डा तय भएपछि भारतसँग थप छलफल गर्ने तयारी छ। भ्रमणका क्रममा भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा पुनर्निर्माण तथा भारतबाट हुनसक्ने सहयोगलाई प्राथमिकतामा राखिने बताइएको छ। पछिल्ला विवरणअनुसार पूर्वाधार, ऊर्जा, व्यापार तथा कनेक्टिभिटीका विषय पनि भ्रमणका एजेन्डामा समेटिन सक्नेछन्।
प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बालेनलाई भारत भ्रमणको निम्तो दिएका थिए। भारतीय विदेश मन्त्रालयले समेत प्रधानमन्त्री शाहलाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा दिइएको पुष्टि गरिसकेको छ। त्यसपछि विभिन्न कारणले भ्रमणको समय तय हुन सकेको थिएन। अहिले भने प्रधानमन्त्री शाहको भारत भ्रमणलाई प्राथमिकताका साथ अघि बढाउने तयारी भएको हो।
परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भ्रमणलाई परिणाममुखी बनाउने उद्देश्यले नेपाल–भारतबीचका सम्झौता, आयोजना र द्विपक्षीय सहकार्यका विषयमा प्रारम्भिक अध्ययनसमेत अघि बढाएको जनाएको छ। भारतीय सञ्चारमाध्यमहरूले नोभेम्बर २३ देखि २५ सम्म प्रधानमन्त्री शाहको भारत भ्रमण हुनसक्ने उल्लेख गरेका छन्। तर नेपाल र भारत दुवै पक्षबाट उक्त मिति औपचारिक रूपमा घोषणा भइसकेको छैन। प्रधानमन्त्री शाहको भारत भ्रमणलाई उनको पहिलो औपचारिक द्विपक्षीय विदेश भ्रमणका रूपमा हेरिएको छ। भ्रमणको मिति र कार्यक्रम औपचारिक रूपमा टुंगिएपछि दुवै देशका विदेश मन्त्रालयले आवश्यक जानकारी सार्वजनिक गर्ने तयारी छ।




