काठमाडौं। पश्चिमी वायुको आंशिक प्रभावका कारण आज राति पाँच वटा प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ।
मौसम विज्ञान विभा अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको पूर्वानुमान महाशाखाले गरेको छ।
उनले भने , “आज रातिदेखि पश्चिमी वायुको प्रभाव बढ्ने देखिन्छ। जसको कारण यी पाँच प्रदेशका केही स्थानमा हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।”
बिहीबारसमेत आंशिकदेखि हल्का वर्षाको सम्भावना रहेको उहाँको भनाइ छ। काठमाडौं उपत्यकामा बिहीबार मात्र छुटफुट वर्षाको सम्भावना रहेको मौसमविद् अर्यालले जानकारी दिए ।
वायुको प्रभावका कारण कोशी प्रदेशको उच्च हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको उनको भनाइ छ।
मधेश प्रदेशमा यस वायुको प्रभावका कारण बाक्लो तुवालो विस्तारै हट्दै जाने छ। पर्सीबाट भने मौममा सुधार हुँदै जाने उनले जानकारी दिए ।




