काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा छन् । उनले आफूले सरकारको नेतृत्व गरेको एक वर्ष पुगेलगत्तै मन्त्री फेर्ने बताएका थिए । सार्वजनिक रूपमा पनि उनले आफूले मन्त्रीहरू फेर्न लागेको जानकारी गराएकै छन् । तर उनको तयारीलाई कांग्रेसले नै रुचाइरहेको छैन ।
कांग्रेस सभापति शेरबहादुर देउवा तत्काल मन्त्री फेर्ने पक्षमा नरहेको देखिएको छ । प्रचण्ड कुनै पनि हालतमा अर्थमन्त्री फाल्ने मनस्थितिमा देखिएपछि कांग्रेसले चासो नदेखाएको हो । पार्टी उपसभापति एवं कानुनमन्त्री धनराज गुरुङमार्फत देउवाले तत्काल मन्त्रीहरू फेर्न कांग्रेसले नचाहेको संकेत गरेका छन् ।
कानुनमन्त्री गुरुङले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको बताएका छन् । उनले कांग्रेस अहिले मन्त्रीहरू परिवर्तन गरिहाल्ने परिस्थिति नभएको दाबी गरेका छन् । नेपाल प्रेस युनियन रूपन्देहीले बुधबार बिहान बुटवलमा गरेको पत्रकार सम्मेलनमा गुरुङले भने, ‘सत्तारूढ दलका नेताहरूबीच छलफल गर्दा अहिलेलाई यही ठिक छ ।
तर, मन्त्रीहरूको पर्फमेन्स चाहिँ देखाउनुपर्छ भन्ने भएको छ । मन्त्रीहरू तत्कालका लागि मन्त्री फेरबदल हुँदैन ।’ प्रचण्डले आफ्नो पार्टीका सबै सेट परिवर्तन गर्ने तयारी गरेका छन् । एकीकृत समाजवादीबाट पनि नयाँ मन्त्री बन्नेको सूची तयार भएको छ । तर कांग्रेसले चासो देखाएको छैन ।




