देश

बालकुमारी गोलीकाण्ड : मन्त्री प्रकाश ज्वालासँग बयान लिन चिठी पठाइयो

काठमाडौं । ललितपुरको बालकुमारी घटनाबारे छानबिन गर्न बनेको आयोगले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग बयान लिने भएको छ । गत पुस १३ गते बालकुमारीमा प्रहरीको गोली लागेर अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यु भएको थियो ।

कोरिया भाषा परीक्षाको फाराम भर्ने विषयमा विवाद हुँदा युवाहरूले मन्त्री ज्वाला सवार बा२झ ५८६१ नम्बरको ल्यान्डक्रुजर प्राडो जलाइदिएका थिए । ज्वालाकै कारण हिंसात्मक घटना हुन पुगेको भन्दै उनको आलोचना भएको थियो । तर उनले आफूले भीडलाई उत्तेजित नगरेको बरु आफ्नो हुलहुज्जत भएको गुनासो गरेका थिए ।

बालकुमारी घटनाको विषयमा छानबिन गर्न सरकारले पुस १६ मा उच्च अदालत पाटनका पूर्वन्यायाधीश शेखर पौडेलको संयोजकत्वमा नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) अरुण बीसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको जाँचबुझ आयोग गठन गरेको थियो ।

युवाहरूले प्रदर्शन गरिरहेको सडकमा मन्त्रीको गाडी जानकारीबिनै प्रवेश गर्दा घटना भएको प्रहरीको दाबी छ । छानबिन आयोगले फिल्डमा खटिएका प्रहरी अधिकारीसँग बयान लिइसकेको छ । मन्त्री ज्वालाको समेत बयान लिने तयारीमा आयोग छ । त्यसका लागि पत्र पठाइसकिएको बुझिएको छ ।

युवाहरूले प्रर्दशन गरिरहेकै बेला पार्टीको बैठकमा सहभागी भएका मन्त्री ज्वाला कोटेश्वरतर्फको विपरीत लेनबाट जान खोज्दा उनको गाडी जलाइएको थियो । त्यो बेला उनका पीएसओ बोधराज दनुवारले ललितपुर प्रहरीलाई समेत खबर नै नगरी त्यहाँ पुगेको अनुसन्धानका क्रममा खुलेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *