राजनीति

पहिले ‘इग्नोर’ गरेका पूर्वराजा शाहले दुर्गा प्रसाईलाई दिए दर्शनभेट

काठमाडौं । पहिले ‘इग्नोर’ गरेका पूर्वराजा ज्ञानेन्द्र शाहले विवादास्पद निजी मेडिकल सञ्चालक दुर्गा प्रसाईलाई दर्शनभेट दिएका छन् । पूर्वराजा शाह र प्रसाईबीच आइतबार साँझ पर्सामा भेट भएको हो ।

गत महिना पूर्वराजा शाहले राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहित पाँच नेतालाई भैरहवामा सामूहिक भेटेका थिए । राप्रपाका नेतापछि उनले केशरबहादुर विष्टसहितका केही नेताहरुलाई पनि सामूहिक भेटेका थिए ।

राप्रपाको त्यो अभियान भन्दा आक्रामक ढंगले पछिल्लो समय प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान पनि राजासहित हिन्दु राज्य फर्काउन अभियानमा छ । तर शाहले प्रसाईलाई त्यति महत्व दिएका छैनन् ।

गत मंसिर ७ गतेदेखि प्रसाईले काठमाडौं केन्द्रित सडक आन्दोलन गरेका थिए । तर सो आन्दोलन तीन चार दिनमै फासफुस भएको थियो ।

गत वर्ष झापामा पूर्वराजा शाहले बालेको दियो आगमी फागुन १ गते काठमाडौंमा उनकै हातबाट बालेर वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्ने योजनामा प्रसाई छन् । त्यसकै लागि कुराकानी गर्न प्रसाई पर्सा पुगेको बताइन्छ ।

प्रसाईका अनुसार पूर्वराजा अहिलेको अवस्थाप्रति धेरै चिन्तित छन् । राजाले अहिले जनतामा चिन्ता र निरासा के कारण छाइरहेको छ भन्ने जिज्ञासा राखेको प्रसाईले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *