काठमाडौँ।आगामी तीन दिनसम्म देशभर ठूलो वर्षाको सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो वर्षाको सम्भावना नभए पनि कतैकतै छिटफुट वर्षा हुनसक्ने महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए ।
काठमाडौँमा बिहिबार यस वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको भन्दै उहाँले विस्तारै देशभर चिसो हुने क्रम बढिरहेको बताए । उनका अनुसार काठमाडौँमा बिहिबार न्यूनतम तापक्रम तीन डिग्रीमा झरेर सोमबारको रेकर्ड तोडेको हो ।
यसअघि गत सोमबार तीन दशमलव दुई डिग्री मापन गरिएकामा शून्य दशमलव दुई डिग्री झरेपछि यस वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको मौसमविद् लामिछानेले जानकारी दिए ।
बिहिबार सबैभन्दा कम तापक्रम जोमसोमको रहेको लामिछानेले बताए । तराईमा बाक्लो हुस्सु र कुहिरो जारी रहने तथा हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा बादल लागेर घाम कम लाग्ने भन्दै देशभर चिसो बढ्ने क्रममा रहेको उनले बताए । यो समयमा चिसोबाट बच्न विभागले सबैमा अनुरोध गरेको छ ।




