काठमाडौं । सरकारले निजामती कर्मचारीहरूलाई राजनीतिक गतिविधिमा संलग्न नहुन कडा निर्देशन जारी गर्दै उल्लंघन गरे सेवाबाट हटाउनेसम्मको चेतावनी दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै कर्मचारी प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त राख्न यस्तो निर्देशन दिएको हो ।
मन्त्रालयले नेपालको संविधानले निजामती सेवालाई तटस्थ, निष्पक्ष र व्यावसायिक सेवाका रूपमा परिकल्पना गरेको स्मरण गराउँदै कर्मचारीहरू कुनै पनि राजनीतिक दल, भ्रातृ संगठन वा जनवर्गीय संगठनमा आबद्ध हुन नपाउने स्पष्ट पारेको छ ।
निजामती सेवा ऐन, २०४९ को दफा ६१ को व्यवस्था उद्धृत गर्दै मन्त्रालयले राजनीतिक गतिविधिमा सक्रिय देखिएका कर्मचारीलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने कानुनी प्रावधान रहेको उल्लेख गरेको छ ।
मन्त्रालयले कर्मचारीहरूलाई राजनीतिक दलको सदस्यता नलिन, राजनीतिक कार्यक्रममा सहभागी नहुन र कुनै पनि निर्वाचनमा उम्मेदवार नबन्न निर्देशन दिएको छ । यस्ता गतिविधिले सार्वजनिक सेवा प्रवाहको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठ्ने सरकारको निष्कर्ष छ ।
शाखा अधिकृत विवेक विडारीद्वारा हस्ताक्षरित सूचनामा अनुशासन र आचरणसम्बन्धी कानुनी व्यवस्थाको पूर्ण पालना गर्न सम्पूर्ण निजामती कर्मचारीलाई आग्रह गरिएको छ । साथै, राजनीतिक प्रभावमा काम गर्ने वा सक्रिय राजनीतिक संलग्नता देखाउने कर्मचारीमाथि कानुनअनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।




