काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनअन्तर्गत भएको मतदान सकिएको छ ।
सातै प्रदेशमा मतदान शान्तिपूर्ण रुपमा सकिएको हो । फागुन २० गतेबाट रिक्त हुने २० राष्ट्रिय सभा सदस्य पदमध्ये १९ पदका लागि सातै प्रदेशमा शान्तिपूर्ण मतदान सम्पन्न भएको हो ।
निर्वाचन आयोगले बिहान ९ देखि ३ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो । १९ पदका लागि ५१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका थिए ।
मतदान सकिएको कोशीमा दुई पालिका प्रमुखसहित तीनजना मतदानमा अनुपस्थित हुँदा मधेशमा एक सांसदले मतदान गरेका छैनन् भने बागमतीमा काठमाडौंका मेयर बालेन साह र हाम्रो नेपाली पार्टीका दुई सांसदले मतदान गरेनन् ।
गण्डकीमा सहकारी ठगीका आरोपीत बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीबाहेक सबैले मतदान गरेका छन भने लुम्बिनीमा दुई पालिका प्रमुखले मतदान नगरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कर्णालीमा भने शतप्रतिशत मतदान भएको छ ।
सुदूरपश्चिममा धनगढीका मेयर गोपाल हमाल र भजनीका उपमेयर राजु तिरुवाले राष्ट्रियसभा निर्वाचनमा मतदान गरेनन् । हमाल स्वतन्त्र निर्वाचित हुन् भने तिरुवा नागरिक उन्मुक्तिबाट निर्वाचित हुन् ।
मतदान सकिएसँगै सातै प्रदेशमा आजै नतिजा सार्वजनिक गर्ने तयारी भईरहेको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्षले मतदान गरेका हुन् ।




