काठमाडौं । माओवादी भ्रातृसंगठन अखिल क्रान्तिकारीका महासचिव दीपेश पुनले आत्मघाती बम बन्न नपरोस् भन्दै अदालतलाई धम्की दिएका छन् । आइतबार उनले सामाजिक सञ्जालमार्फत यस्तो धम्की दिएका हुन् । उनी पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन् ।
जिल्ला अदालत सुर्खेतले आइतबार अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध १५ वर्षअघि भएको हत्या आरोपमा पक्राउ पुर्जी जारी गर्न आदेश दिएलगत्तै दीपेशले अदालतलाई धम्की दिएका हुन् ।
उनले माओवादीका सुप्रिमो (प्रचण्ड) लगायतका बृद्ध नेताहरूलाई थकाइसकियो अब युवा नेताहरूलाई चेक गर्न खोजेको भन्दै प्रश्नसमेत गरेका छन् । पुनले सहयोद्धाको रगतले लत्पतिएको बन्दुक बोकेर आएको भन्दै धम्कीपूर्ण अभिव्यक्ति सार्वजनिक गरेका छन् ।
‘ए जिस्काएको ? हाम्रो सुप्रिमोलाई सर्बोच्चमा विभिन्न नाममा मुद्दा हालेर बुढाहरुलाई थकाइसकियो, अब नयाँ पुस्तालाई चेक गर्न खोजेको ? अरे हामी मर्न हिँडेर संगसंगै सहयोद्धाहरुलाई हातैले जमिनमा गाडेर सहयोद्धाको रगतले लत्पतिएको बन्दुक बोकेर आएको यार। धेरै खेलाँची नठान है नाफाको जिन्दगी हो।कसैसँग मतलब छैन।
आत्मघाती बम बन्न नपरोस्,’ पुनले लेखेका छन् । दीपेश पुन आफैं विवादित चरित्रका नेता हुन् । सुन तस्करीदेखि ढुंगागिटी तस्करी, घरजग्गा कारोबारीसमेत रहेका पुनसँग अर्र्बौको सम्पत्ति रहेको विद्यार्थी नेताहरू बताउँछन् ।




