काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगीमा मुछिएका छन् ।
रवि गोरखा मिडिया नेटवर्कको एमडी हुँदा पोखराको सूर्यदर्शन सहकारी र चितवनको सहारा सहकारीबाट ५२ करोड रुपैयाँ कर्जा लिएको भेटिएपछि रवि विवादमा तानिएका हुन् ।
आफूमाथि कान्तिपुर दैनिकले लगातार समाचार छापेपछि रविले सोमबार पत्रकार सम्मेलनमार्फत त्यसबारे जानकारी दिने भएका छन् । सामाजिक सञ्जालमार्फत रविले यसको जानकारी गराएका हुन् ।
‘गाली गर्न कोही छुट्नु भो किरु छुट्नु भएको भए गरिहालौं है। मलाई केही कुरा लुकाउनु छैन। पहिलेदेखि जे भन्दै आएँ, त्यसैमा अडिग छु। मिडियामा निरन्तर आइरहेका स्लिपमा कोही स्लिप हुनै पर्दैन।
बाँकी भ्याएसम्म आजै साँझ प्रेस मिटको तयारी गर्दैछु। सारा प्रश्नहरु एकत्रित पार्दै गर्नु होला, कसैको कुनै प्रश्न नछुटोस्। त्यसैबाट सबै स्पष्ट पार्ने नै छु,’ उनले भनेका छन् ।
सोमबारको कान्तिपुर दैनिकले सहकारीको बचतबाट रविको खातामा एक करोड ८० लाख जम्मा भएको समाचार छापेको छ । जुन समाचारलाई लिएर सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि रविले पत्रकार सम्मेलनमार्फत आफूमाथि लागेको आरोपबारे प्रस्टीकरण दिने भएका हुन् ।
उनले आफू निर्दोष भएको दाबी पनि गरेका छन् ।




