देश

प्रचण्डले बीपी स्वास्थ्य प्रतिष्ठानमा खेल्न खोजेपछि कांग्रेस असन्तुष्ट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खेल्न खोजेपछि नेपाली कांग्रेस असन्तुष्ट बनेको छ । प्रचण्डले विवाद समाधान गर्न तत्काल कार्यकारिणी समितिको बैठक बोलाउन उपकुलपति डा.प्रह्लाद कार्कीलाई ठाडो निर्देशन दिएपछि कांग्रेस सभापति शेरबहादुर देउवा असन्तुष्ट बनेका हुन् ।

यसअघि प्रतिष्ठानका सहकुलपति स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले २१ दिनभित्र सिनेटको बैठक बोलाएर समस्याको समाधान गर्न भनिसकेका तिए । कायम मुकायम उपकुलपति कार्कीले माघ २६ भित्रै सिनेटको बैठक पनि बोलाउने बताएका थिए ।

तर आइतबार प्रचण्डले उपकुलपति कार्कीलाई बोलाएर ठाडो निर्देशन दिएपछि कांग्रेस नेताहरू झस्किएका हुन् ।
सत्तारुढ कांग्रेस र माओवादीबीच प्रतिष्ठानको उपकुलपतिमा कसलाई नियुक्त गर्ने भन्ने होडबाजी छ । त्यही कारण यहाँको विवाद मिल्न सकेको छैन ।

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले उपकुलपतिको कार्यकक्षमा लगाएको ताला उच्च अदालत विराटनगरको आदेशपछि शुक्रबार खोलिए पनि कर्मचारीको आन्दोलन रोकिएको छैन । कांग्रेस र माओवादी निकट कर्मचारीले उपकुलपति नियुक्तलाई प्रतिष्ठानको विषय बनाएर छुट्टाछुट्टै आन्दोलन गर्दै आएका छन् ।

कांग्रेसले कायममुकाय उपकुलपतिमा डा. प्रह्लाद कार्कीलाई नै उपकुलपति बनाउन खोजेको छ । प्रधानमन्त्री प्रचण्डले आफूनिकट डा. गुरु खनाललाई उपकुलपति बनाउन चाहेका छन् । बीपीमा अहिले माओवादी निकट नेपाल प्रगतिशील चिकित्सक संघका अध्यक्ष मधुर बस्नेतको नेतृत्वमा आन्दोलन भइरहेको छ।

कांग्रेसले अहिलेसम्म माओवादीले पाएको मन्त्रालयमा कहीँकतै नियुक्ति मागेको छैन । तर माओवादीले भने कांग्रेसको भागमा परेको मन्त्रालयमा पनि आफ्नो मान्छेलाई नियुक्ति दिलाउँदै आएको छ । स्वास्थ्य मन्त्रालय कांग्रेसको भागमा परेको छ । तर माओवादीले आफ्ना मान्छेलाई नियुक्ति दिन बखेडा झिक्दै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *