काठमाडौं । सरकारले दल विभाजनसम्बन्धी व्यवस्था जगाउन संशोधन विधेयक संसद्मा ल्याउने भएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले दल विभाजनसम्बन्धी व्यवस्थालाई ब्युँताउन राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
साढे तीन वर्षदेखि कानुनी शून्यतामा रहेको विधेयक ब्यूँताउने सरकारको निर्णयपछि सर्वत्र चासो उत्पन्न भएको छ । किन अहिले बेला न कुबेला यो विधेयक ल्याउन खोजिएको भन्दै सर्वत्र चासो उत्पन्न भएको छ ।
गृह मन्त्रालयले तयार पारेको विधेयक संसद्मा दर्ता गर्न मन्त्रिपरिषद्ले अनुमति दिएको हो । गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले ऐनको साबिकको व्यवस्था जगाउने गरी संशोधन विधेयक तयार गरिएको जानकारी दिए । उनका अनुसार अध्यादेशबाट निष्क्रिय भएको दल विभाजनसम्बन्धी व्यवस्थालाई ऐनको साबिककै अवस्थामा सक्रिय गराउन संशोधन विधेयक एक दुई दिनमै संसद्मा दर्ता गर्ने भएको छ ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ (२) तथा नियमावलीको दफा ५ मा कुनै दलको केन्द्रीय समिति र संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले समर्थन गरेमा छुट्टै दल बनाउन वा नयाँ दल गठन हुने व्यवस्था छ । यस्तोमा दल त्याग गरेको नमानिने र सांसद पद पनि कायम रहने ऐनको व्यवस्था थियो ।
यो व्यवस्थालाई खुकुलो बनाउन सुरुमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले ०७७ वैशाख ८ मा अध्यादेश ल्याएका थिए । अध्यादेशमा ओलीले केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत सदस्य चाहिनेमा कुनै एकमा ४० प्रतिशत भए पार्टी फुट्ने व्यवस्था गरे । अर्थात् ‘र’ ठाउँमा ‘वा’ बनाइयो ।
ओलीपछि प्रधानमन्त्री भएका शेरबहादुर देउवाले ०७८ भदौ १ मा ओलीको भन्दा पनि खुकुलो अध्यादेश ल्याउँदै दल विभाजनसम्बन्धी व्यवस्था ब्युँताए । ४० प्रतिशतलाई २० मा झारेर ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २ मा जारी गरिन् ।
अध्यादेशमा केन्द्रीय सदस्य वा संसदीय दलमा २० प्रतिशत संख्याको समर्थन पुर्याए दल विभाजन गर्न सकिने व्यवस्था राखिएको थियो । अर्थात् कुनै दलको केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एकमा २० प्रतिशत सदस्य तयार भए पार्टी फुटाउने बाटो खोल्यो । अध्यादेशअनुसार एमालेबाट फुटेर माधव नेपाल नेतृत्वमा एकीकृत समाजवादी खुल्यो भने जसपाबाट फुटेर महन्थ ठाकुरको नेतृत्वमा लोसपा गठन भयो ।
अहिले लोसपा विभाजनको अन्तिम तयारीमा छ । पार्टी अध्यक्ष महन्थ ठाकुरको कार्यशैलीप्रति आपत्ति जनाउँदै राजेन्द्र महतोले नयाँ पार्टी खोल्ने तयारी गरेका छन् । त्यही तयारीका लागि उनी अहिले भारतको नयाँ दिल्ली पुगेका छन् । एक सातादेखि उनी भारतमै छन् । महतोले पार्टी विभाजन गर्ने संकेतपछि महन्थ ठाकुरले सरकारलाई आग्रह गरेर दल विभाजनसम्बन्धी विधेयक ल्याउन लागेको स्रोतले बतायो ।




