काठमाडौं । काठमाडौंवासीका घरमा आजदेखि मेलम्चीको पानी चौथो पटक आएको छ । मेलम्चीको पानी पुनर्वितरणको उदघाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार परिसरबाट गर्दै उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन सरकार प्रयासरत रहेको बताएका छन् ।
प्रधानमन्त्री दाहालले अब मेलम्चीको पानी नियमित रुपमा उपभोक्ताको धारामा झर्ने प्रबन्ध मिलाउने बताए ।
‘काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन सरकार प्रयासरत छ ।
हाल आयोजनाको हेडवक्र्सको निर्माणको कार्य यथाशीघ्र सम्पन्न गरी दोस्रो चरणको याङग्री तथा लार्के नदी डाईभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइनेछ,’ प्रधानमन्त्री दाहालले भने ।
प्रधानमन्त्री दाहालले अर्को वर्षदेखि २४ सैँ घण्टा पानी आउने गरी निर्माण र व्यवस्थापन गर्न मन्त्रालय र आयोजना प्रमुखलाई निर्देशन दिए ।
‘सुन्दरीजलमा थप क्षमताको पानी प्रशोधन केन्द्र तथा काठमाडौं उपत्यकामा नयाँ वितरण प्रणाली र फोहोर पानी प्रशोधन प्रणालीसमेत विकास गर्नुपर्नेछ ।
केही वर्षभित्रै अर्को चरणमा काठमाडौं उपत्यकाभित्र खानेपानी वितरणको कार्य नयाँ वितरण सञ्जालमार्फत समानुपातिक, सुरक्षित तथा तोकिएको परिमाणको खानेपानी सेवा २४ सै घण्टा उपभोक्ता सदस्यहरूको धारामा वितरण गरिने व्यवस्था मिलाउन म सम्बन्धित निकायलाई निर्देशितसमेत गर्दछु,’ दाहालले भने ।
प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवको आयोजनामा रहेको मेलम्ची खानेपानी आयोजनाको दीर्घकालिन समस्या समाधानका लागि विस्तृत अध्ययन गरी ठोस् कार्ययोजनामार्फत काम गरी बाह्रै महिना मेलम्चीको पानी उपभोक्ताको धारामा झार्ने गरी प्रयास गरिरहेको बताए ।
प्रधानमन्त्री दाहालले खानेपानीको दीगो व्यवस्थाका लागि दोस्रो चरणको याङग्री तथा लार्के नदी डाईभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइने जानकारी गराए ।
काठमाडौंका उपभोक्ताको धारमा सोमबार बिहान आठ बजेदेखि नै मेलम्चीको पानी छोडिएको खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए ।
अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा पानी वितरण गरिने खानेपानी मन्त्रालयले जनाएको छ ।
सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको तथा खानेपानीको परिमाण मापन गरी क्रमिकरूपमा काठमाडौंका सबै क्षेत्रमा वितरण गरिने आचार्यले जानकारी दिए ।
कार्यक्रममा खानेपानी मन्त्री महिन्द्र राय यादवले भने, ‘खानेपानी मन्त्री महेन्द्र राय यादवले मेलम्ची खानेपानीलाई वर्षभरी नै उपभोक्तामाझ दिर्घकालीन रुपमा पु¥याउन दोस्रो चरणको याङ्ग्री र लार्केको काम अगाडि बढाउन मन्त्रालयको विज्ञहरुको सल्लाह लिएर राजनीतिक तहमा सहमति जुटाउन पहल गरेको छु ।’
मुख्य सचिव बैकुण्ठ अर्यालले आयोजना बनाएर उद्घाटन गर्ने, तर त्यसको दिगोपन नहुने भन्दै मेलम्चीबाट शिक्षा लिई अन्य आयोजनाहरुका लागि कार्ययोजना बनाएरै काम गर्नुपर्ने बताए ।
अर्यालले मेलम्चीले निरन्तरता पाउनुपर्नेमा जोड दिँदै भने, ‘यो पानी सधैं आओस् ।’
कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवं कांग्रेस नेता प्रकाशमान सिंहले काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी वितरणलाई निरन्तरता दिएर सुलभ मूल्य र सरल रुपमा उपलब्ध गराउनुपर्नेमा जोड दिए । उनले आयोजनाको दिगोपनालाई कायम गर्नुपर्ने भन्दै उपत्यका सँगै देशभरिकै भूमिगत पानी निस्कासनमा सरकारले ध्यान दिनुपर्ने बताए ।
गत पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौं ल्याउने सहमति भएको थियो ।
कूल २८ दिनको कार्ययोजनासहित पानी पथान्तरण सुरु गरिए पनि २१ दिनमै हेलम्बुबाट सुन्दरीजलमा पानी पथान्तरण गरि समितिले उपभोक्ताको धारामा पानी पु¥याउन मन्त्रालय सफल भएको हो ।
मेलम्ची खानेपानीको पथान्तरण पुनर्वितरण शुभारम्भ कार्यक्रममा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको सम्बोधन
(१ माघ २०८०, सिंहदरबार)
खानेपानी मन्त्रालयका सचिवज्यू,
माननीय खानेपानी मन्त्रीज्यू,
पूर्व उपप्रधानमन्त्री तथा माननीय प्रकाशमान सिंहज्यू,
उपस्थित माननीय मन्त्रीज्यूहरू,
नेपाल सरकारका मूख्य सचिवज्यू,
विशिष्ट व्यक्तित्वहरु,
सञ्चारकर्मी मित्रहरु
उपस्थित सम्पूर्ण महानुभावहरू।
नेपाल सरकार खानेपानी मन्त्रालयले मिति २०७८ आषाढ १ गते तथा तत्पश्चात मेलम्ची नदीमा आएको विनासकारी बाढी पहिरोका कारण क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनालाई बैकल्पिक व्यवस्थापन गरी काठमाडौं उपत्यकाभित्र खानेपानी आपूर्ति गर्दै आएको छ। यस वर्षको वर्षायामपछि आयोजनाको क्षतिग्रस्त क्षेत्र र प्रणालीको मर्मत कार्य सम्पन्न भई मेलम्चीबाट पथान्तरित पानी काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा प्राप्त भएको छ। प्रशोधित मेलम्चीको पानी काठमाडौं उपत्यकाभित्र वितरण गर्नका लागि आवश्यक व्यवस्थापन मिलाउन खानेपानी मन्त्रालय, मेलम्ची खानेपानी विकास समिति, आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौं उपत्यका खानेपानी लिमिटेड तथा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड लगायतका सबै सरोकारवाला निकायहरूलाई आवश्यक निर्देशन भएमुताविक २८ दिनको सघन कार्ययोजनाको साथ मेलम्ची पानी पथान्तरण गर्न हामी केही दिन अगाडि नै सफल भएका छौं।
दीर्घकालीन रूपमा समस्या समाधान नहुञ्जेलसम्मका लागि हरेक वर्ष मनसुनबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्येनजर गर्दै अरबौं लगानीमा निर्मित मुख्य संरचनाको रूपमा रहेको २७ कि।मि। लामो सुरूङलाई क्षति हुनबाट जोगाउन मनसुन अवधिभर सुरूङ सञ्चालन बन्द गर्नुपर्ने बाध्यताका कारण बाह्रै महिना पानी आपूर्ति गर्न नसकिएकोप्रति आम उपभोक्ताहरूमा जानकारी गराउँदै यस वर्षको बाढीले मेलम्ची हेडवक्र्समा गत वर्षको तुलनामा धेरै क्षति पुर्याएकोले मेलम्ची पानी आपूर्तिमा केही विलम्ब हुन गएकोप्रति पनि हाम्रो दायित्ववोध भएको छ।
खानेपानी मन्त्रालय तथा मेलम्ची खानेपानी विकास समितिको प्रयासमा यस वर्ष खानेपानी पथान्तरण कार्य सम्पन्न भई पुनः वितरण शुभारम्भ कार्यक्रममा हामी सरिक भइरहेका छौं। आयोजनालाई दीगो रूपमा सञ्चालन गर्ने विषय नेपाल सरकारले प्राथमिकतामा राखेको छ। दीर्घकालिन समस्या समाधानका लागि विस्तृत अध्ययन तथा ठोस कार्ययोजना बनाई आयोजनाको पुनर्निर्माणको कार्य कार्यान्वयन गरिनेछ। आयोजनाअन्तर्गत हाल प्रयोग हुँदै आएको बैकल्पिक प्रणालीलाई पनि बाह्रै महिना सञ्चालन गर्ने गरी व्यवस्था मिलाउन सम्बन्धित पदाधिकारीलाई मैले निर्देशनसमेत दिएको छु।
मेलम्ची खानेपानी आयोजनाको सुरुङ्ग निर्माणमा संलग्न इटालियन निर्माण कम्पनी सि।एम।सी।सँग ठेक्का रद्द भएपश्चात उक्त कम्पनीसँग आवद्ध विभिन्न स्थानीय आपूर्तिकर्ता र गोदाम एवं भण्डारणका लागि घर भाडामा दिएका घर तथा जग्गाधनीहरूले भुक्तानी नपाएको समस्या लगायत विविध कारणले आयोजनाको काम पटकपटक अवरुद्ध हुन गएकोले सो समस्या समाधानका लागि सिएमसीबाट पछि सरकारी बाँकीसरह असुलउपर गर्ने गरी नेपाल सरकारले तत्काललाई राहत प्रदान गर्ने विषयमा राष्ट्रिय योजना आयोगका तत्कालीन सदस्य डा. दिल बहादुर गुरूङको संयोजकत्वमा गठित समितिको प्रतिवेदनका आधारमा उचित निर्णय लिनेछ।
काठमाडौँ उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत छ। हाल मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्सको निर्माणको कार्य यथाशीघ्र सम्पन्न गरी दोस्रो चरणको याङग्री तथा लार्के नदी डाईभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइनेछ।
सुन्दरीजलमा थप क्षमताको पानी प्रशोधन केन्द्र तथा काठमाडौं उपत्यकामा नयाँ वितरण प्रणाली र फोहोर पानी प्रशोधन प्रणालीसमेत विकास गरिनेछ। केही वर्षभित्रमा अर्को चरणमा काठमाडौं उपत्यकाभित्र खानेपानी वितरणको कार्य नयाँ वितरण सञ्जालमार्फत समानुपातिक, सुरक्षित तथा तोकिएको परिमाणको खानेपानी सेवा २४ सै घण्टा उपभोक्ता सदस्यहरूको धारामा वितरण गरिने व्यवस्था मिलाउनका लागि सम्बन्धित निकायलाई निर्देशितसमेत गर्दछु।
मेलम्चीको पानी काठमाडौं उपत्यकाभित्र पुनः वितरण गर्ने कार्यको शुभारम्भका लागि आयोजक खानेपानी मन्त्रालय, मेलम्ची खानेपानी विकास समिति, काठमाडौं उपत्यका खानेपानी लिमिटेड तथा अन्य सरोकारवाला निकायहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।
अन्तमा, बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनालाई विषम परिस्थितिको वावजुद पनि पुनःसञ्चालन गरी तोकिएको कार्ययोजनाभन्दा अगाडि नै काठमाडौं उपत्यकामा वितरणको कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण प्राविधिक, परामर्शदाता तथा निर्माण व्यवसायी सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। धन्यवाद।




