राजनीति

नागरिक हृदयेन्द्रमाथि ज्ञानेन्द्र शाहको षड्यन्त्र

काठमाडौ । संविधानसभाको पहिलो निर्वाचनअघि ‘बेबी किङ’ को निकै चर्चा थियो । राजा राख्ने कि फाल्ने भन्ने तीव्र बहस चलिरहेका बेला तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ‘बेबी किङ’ को अवधारणा ल्याएका थिए । अर्थात् पूर्वराजा ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाहलाई नभई उनका छोरालाई ‘बेबी किङ’ का रूपमा राख्न सकिने गिरिजाप्रसादको आशय थियो । तर तत्कालीन राजा शाहले गिरिजाप्रसादलाई भेट्नै चाहेनन् ।

आन्दोलन उत्कर्षमा पुगेको थियो । माओवादीले राजा कुनै पनि हालतमा राख्न नसकिने अडान लिएको थियो । तर गिरिजाप्रसाद कुनै पनि हालतमा राजतन्त्रलाई स्वीकार गर्न सकिने मनस्थितिमा थियो । गिरिजाप्रसादले धेरैपटक पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न चाहेका थिए । ज्ञानेन्द्रमा रहेको दम्भ र अहंकारकै कारण उनले गिरिजाप्रसादलाई भेट्न मानेनन् । तर ज्ञानेन्द्रले नचाहेकै कारण गिरिजाप्रसाद माओवादीको मागमा सहमत भएका थिए । त्यसपछि नेपालमा राजतन्त्र समाप्त भएको थियो ।

पारस र हिमानीका एक मात्र छोरा हृदयेन्द्र शाह अहिले बालिग भइसकेका छन् । उनले नागरिकता पनि लिइसकेका छन् । पछिल्लो समय राप्रपालगायतका केही दल र समूहले राजतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापनाको नारा बोकेर सडक आन्दोलन गरिरहेका बेला पूर्वराजा पनि सडकमा ओर्लेका छन् । हालै उनी पृथ्वीनारायण शाहको सालिक अनावरणका नाममा हृदयेन्द्रलाई लिएर कपिलवस्तु पुगेका थिए । जहाँ हजुरबुबा र नाति एउटै मञ्चमा देखिएका थिए । यो तस्बिर देखेर धेरै राजावादी दंग देखिएका छन् । कतै हृदयेन्द्र राजा भइहाल्छन् कि भन्ने उनीहरूलाई लागेको छ ।

त्यही बेला पूर्वराजा शाहले राप्रपाका पाँच शीर्ष नेतालाई भेटेका थिए । जसमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, रवीन्द्र मिश्र, धवलशमशेर राणा, बुद्धिमान तामाङ र दीपक सिंह थिए । हृदयेन्द्रलाई एउटै मञ्चमा राखेपछि राप्रपा नेताहरूमा कौतूहलता देखिएको थियो । भेटका क्रममा पूर्वराजा ज्ञानेन्द्रले नाति हृदयेन्द्रलाई अगाडि सार्ने विषयमा केही प्रतिक्रिया नदिएको धवलशमशेर राणाले बताए । ‘पछिल्लो समय पूर्वराजाले नातिलाई प्राथमिकता दिएर कार्यक्रममा पनि लिएर हिँड्ने गरेका छन् । नातिलाई अगाडि सार्नेबारे उहाँले केही बताउनुभयो भन्ने प्रश्नमा राणाले भने, ‘हृदयेन्द्रलाई अगाडि सार्नेबारे उहाँले केही कुरा गर्नुभएन ।’

कुनै बेला मुलुकवासी दशैंको बिदाको माहोलमा हुँदा पूर्वराजा ज्ञानेन्द्रले पारस शाहलाई युवराज घोषित गरेका थिए । किनकि त्यसबेला पारसको छवि राम्रो थिएन । सडकमा हिँडेका बेला प्रहरीलाई बन्दुक ताक्ने, गायक प्रवीण गुरुङलाई गाडी किचेर मारेको आरोप उनलाई लागेको थियो । २०५८ को दरबार हत्याकाण्डपछि शाह राजाको गद्दीमा त बसे । तर पारसलाई जनताले स्वीकारेनन् । अनि पूर्वराजा शाहले दशैंको बिदा पारेर छोरालाई युवराज घोषित गरेका थिए ।

उमेरले पूर्वराजा ७६ वर्ष पुगिसके । यति उमेरसम्म राजपरिवारका सदस्य नेपालमा बाँचेको उनी पहिलो हुन् । अहिले उनी कतै राजसंस्था फर्किन्छ कि भनेर हिँडेका छन् । आफू र छोरालाई जनताले नस्वीकार्ने उनमा डर छ । त्यही भएर अहिले मृगतृष्णा देख्दै हृदयेन्द्रलाई लिएर हिँड्दै छन् । उनी आफू त असल नागरिक बनेनन्, नातिलाईलाई पनि नागरिक बन्ने कार्यबाट दलदलतर्फ धकेल्दै छन् । यो नागरिक हृदयेन्द्रमाथि ज्ञानेन्द्र शाहको षड्यन्त्र भएको टिप्पणी हुन थालेको छ । राजतन्त्र समाप्त भएको १६ वर्ष बितिसक्दा पनि ज्ञानेन्द्रमा गद्दीमा बस्न पाइन्छ कि भन्ने आश देखिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *