राजनीति

राष्ट्रिय सभामा टिकट दिएर कांग्रेसले गर्यो जितजंग बस्नेतलाई न्याय

काठमाडौं । नेपाली कांग्रेसले तरुण दलका पूर्वअध्यक्ष एवं नेविसंघका पूर्वमहामन्त्री जितजंग बस्नेतलाई राष्ट्रिय सभाको उम्मेदवार बनाएको छ । सोमबार बिहान सम्पन्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले आफूले पाएका १० वटै सिटमा उम्मेदवारको नाम टुंगो लगाएको हो ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्यसम्पादन समितिको बैठकले कोसीमा कृष्णप्रसाद सिटौला, मधेसमा आनन्द ढुंगाना, बागमतीमा जितजंग बस्नेत र विष्णुकुमारी पुडासैनी, गण्डकीमा किरणबाबु श्रेष्ठ र पदमबहादुर परियारलाई उम्मेदवार बनाएको छ। यसैगरी लुम्बिनीमा विष्णुकुमारी सापकोटा, कर्णालीमा कृष्णबहादुर रोकाया, सुदूरपश्चिममा बलदेव बोहरा र नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने रणनीतिअनुसार कांग्रेसले टिकट दिएको हो । सिटौला पहिले राष्ट्रपतिको दौडमा थिए । तर रामचन्द्र पौडेलले बाजी मारेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने रणनीतिअनुसार टिकट दिएका हुन् ।

बस्नेतलाई भने राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता बनाउने रणनीतिअनुसार टिकट दिइएको हो । गत वर्षको निर्वाचनमा बस्नेत ललितपुर–३ बाट टिकटको आकांक्षी थिए । तर माओवादीले सो क्षेत्रमा पम्फा भुसाललाई उम्मेदवार बनाएपछि बस्नेत रोकिएका थिए । बस्नेत पार्टी सभापति देउवाका विश्वासपात्र मानिन्छन् ।

देउवाकै आग्रहका कारण बस्नेत पटकपटक अवसर पाउनबाट वञ्चित रहँदै आएका थिए । उनी १३औं महाधिवेशनमै केन्द्रीय सदस्यको उम्मेदवार बन्न चाहन्थे । तर देउवाले रोकेका कारण उम्मेदवारी नै दिएनन् । तर यसपटक भने देउवाले बस्नेतलाई सांसद बनाउनकै लागि उनको नाममा अडान राखेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *