राजनीति

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका १० उम्मेदवार

काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रियसभा उम्मेदवारको टुङ्गो लगाएको छ । कांग्रेसले कोशीमा कृष्णप्रसाद सिटौला र मधेसमा आनन्द ढुंगानालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यस्तै बागमती प्रदेशको अन्यतर्फ जितजंग बस्नेत र महिलातर्फ विष्णुकुमारी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ । गण्डकी प्रदेशको अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगतर्फ पदमबहादुर परियार र लुम्बिनीको महिलातर्फत विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

कर्णालीको अन्यतर्फ कृष्णबहादुर रोकाया र सुदूरपश्चिमको अन्यमा बलदेव बोहरा र अपांगतर्फ नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको सो पार्टीले जनाएको छ । सत्ता गठबन्धनको हिजो बसेको बैठकले संयुक्तरुपमा उम्मेदवार उठाउने निर्णय गर्दै सिट बाँडफाँट गरेको थियो ।

नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र)ले छ, नेकपा (एकीकृत समाजवादी)ले दुई र जनता समाजवादी पार्टी नेपालले एक सिटमा उम्मेदवारी दिने गरी सहमति भएको हो । बाँकी रहेको एक सिटमा भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ ।

गगन थापाको लिखित असहमति

१० जना मध्ये गण्डकीमा दुई जना र लुम्बिनीमा एक जना गरी तीन जना उम्मेदवार मात्रै शेखर कोइराला र गगन थापा पक्षले पाएको छ । ४ जना दाबी गरेकामा तीन जना मात्रै पाएपछि महामन्त्री गगन थापाले लिखित असहमति जनाएका छन् ।

महामन्त्री गगन थापाको फरक मत यस्तो छ –

१. हाम्रो संविधानले राष्ट्रिय सभामा खासगरी प्रतिनिधिसभामा प्रतिनिधित्व हुन नसकेमा जाती, वर्ग र क्षेत्रको प्रतिनिधित्व र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका एवं विज्ञ व्यक्तिहरूको उपस्थितिको परिकल्पना गरेको छ । यसैगरी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पौष १२–१४ गतेसम्म बसेको बैठकले राष्ट्रिय सभाको उम्मेदवार चयन सम्बन्धमा ‘हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वन्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने’ लगायतको मापदण्ड तय गरेको थियो ।

संसदीय बोर्डको आजको बैठकले उम्मेदवारको चयन गर्दा माथि उल्लेखित पक्षमा यथेष्ट ध्यान पुर्याउन सकेन ।

२.यो निर्णयले पार्टीमा कुनै पनि आग्रह नराखिकन निर्णय हुन्छ, सबै तह र तप्काका साथीहरूलाई समान ढंगले न्यायको अनुभूति र अवसरमा स्थान हुन्छ भन्ने विश्वासलाई पुनः एकपटक खण्डित गरेको छ । यस्तो आग्रहपूर्ण निर्णयले पार्टीभित्रको लोकतन्त्रलाई समेत थप कमजोर बनाउँछ ।

अतः आजको निर्णयप्रती मेरो लिखित असहमति रहेको छ । मेरो असहमतिको बाबजुद बैठकमा बहुमतले गरेको निर्णय कार्यान्वयनमा जाँदा मेरो पूर्ण संलग्नता रहने नै छ ।

गगनकुमार थापा
महामन्त्री
२०८० पौष २२

महामन्त्री शर्माका ६ बुँदे विमति –

१. उम्मेदवार चयनको समग्र सन्दर्भमा सभापतिको कार्यशैलीसँग प्रष्ट असहमत

२. संसदीय बोर्डलाई पूर्णता नदिएर हामी पदाधिकारीले मात्रै निर्णय गर्ने भए विधानमा किन राखेको ?

३ राष्ट्रिय सभाको विशिष्टता बढाउने कर्तव्य दलहरूकै होइन र ? कांग्रेसले यो हेक्का राख्नुपर्छ कि पर्दैन ?

४. समावेशिताको सिद्धान्त विधानमा कि व्यवहारमा ?

५. नेतृत्वले फरक विचार समूह गाँस्ने कि एक्लै बढ्ने ? फरक विचार समूहले भाग मात्र लिने कि न्यायोचित प्रतिनिधित्व खोज्ने ?

६. राष्ट्रिय सभाकै नेतृत्व गर्ने गरी अपवाद स्विकार्य, अन्य सोझै र प्रष्ट अस्वीकार्य । योगदान र योग्यता बोकेका सयौं साथी हुनुन्छ, जिम्मेवारीको अवसर न्यायोचित हुनुपर्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *