देश

राष्ट्रिय सभा निर्वाचन : गठबन्धनमा सिट बाँडफाँट गर्न आज निर्णायक बैठक

काठमाडौं।राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ सिट बाँडफाँडका लागि निर्णायक वार्ता गर्न आज सत्ता गठबन्धनको बैठक बस्दैछ। बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

राष्ट्रियसभामा एमालेसँगको सहकार्य नहुने निष्कर्षमा पुगेपछि आपसमै सिट बाँडफाँड गर्नेबारे गठबन्धनमा निर्णायक वार्ता हुन लागेको प्रमुख सचेतक लेखकले बताए। एमालेले सबै सिटमा एक्लै उम्मेदवारी दिने निर्णय गरेपछि गठबन्धनले तत्कालका लागि ऊसँगको सहकार्य टुंग्याएको हो।

माओवादी उपमहासचिव वर्षमान पुनले एमाले निर्णयसँगै सहकार्यको सम्भावना टुंगिएको बताए । उनले शनिबार गठबन्धन दलबीचको छलफलबाट सिट बाँडफाँटको टुंगो लाग्ने बताए ।

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले शुक्रबारसम्म एमालेबाट सहकार्यको कुनै सुनिश्चितता नआउँदा सहकार्य गरेर जाने सम्भावना सकिएको बताए । यससँगै गठबन्धनका चार दलबीच सिट बाँडफाँटको चरणमा पुगेको उनको भनाइ छ । ‘एमालेको सहकार्यको छाँट देखिएन । उहाँहरू तयार नहुँदा शुक्रबार संसद्को कानुन समितिको बैठकमा टिआरसी विधेयकको प्रस्ताव पनि आएन ।

एमाले सचिवालय बैठकले १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको थियो। यसअघि कांग्रेस र माओवादीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गराउन एमालेको सहयोग खोजेका थिए।

आगामी २१ फागुनमा राष्ट्रिय सभा अध्यक्षसहित २० सांसदको कार्यकाल सकिँदै छ । त्यसमध्ये एकजना राष्ट्रपतिबाट मनोनीत छन् भने बाँकी १९ सांसदका लागि आगामी ११ माघमा निर्वाचन हुँदै छ । त्यसका लागि निर्वाचन आयोगले २३ पुसमा मनोनयन दर्ताको समय तोकेको छ ।

कांग्रेसले राष्ट्रिय सभाका उम्मेदवारको विषय टुंगो लगाउन शनिबार कार्यसम्पादन समितिको बैठक बोलाएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ । कांग्रेस बैठकबाट उम्मेदवारको अन्तिम टुंगो लगाउने अधिकार सभापतिलाई दिने तयारी भएको छ ।

प्रमुख प्रतिपक्षी दल एमाले र विपक्षी दल रास्वपाका अध्यक्षबीच शुक्रबार यसबारे छलफल भएको छ । एमाले अध्यक्ष केपी ओलीलाई भेट्न रास्वपा अध्यक्ष रवि लामिछाने ओलीनिवास बालकोट पुगेका थिए । दुईबीच लामो छलफल चलेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *