रिबन

हिजो संयुक्त आयोगको बैठक, आज विमानस्थलमा बैठकको माइन्युट एक्सचेन्ज

काठमाडौं । अजब नेपालको गजब तमासा त्यत्तिकै भनिएको होइन रहेछ भन्ने एउटा गतिलो उदाहरण शुक्रबार देखिएको छ । तीन वर्षपछि बिहीबार नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक बस्यो । बैठकमा भाग लिन भारतीय विदेशमन्त्री एस जयशंकर दुई दिने भ्रमणका लागि नेपाल आए ।

हँसिलो मुद्रामा नेपाल ओर्लेलगत्तै उनी राजनीतिक भेटवार्तामा लागे । राष्ट्रपति, प्रधानमन्त्री, संयुक्त आयोगको बैठक, नेपालका परराष्ट्रमन्त्री, विभिन्न दलका शीर्ष नेतासँग भेटवार्ता गरे । राति सोल्टी होटलमा आयोजित रात्रिभोजमा फेरि विभिन्न दलका नेतासँग भलाकुसारी गरे । तर काठमाडौं आएको केही समयपछि नै जयशंकरको मुड खराब भयो । कारण थियो उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डलको नेपाल आगमन ।

आफ्नो भ्रमण भएकै दिन चिनिया कम्युनिष्ट पार्टी युन्नान प्रान्तीय कमिटी स्थायी समितिका उपसचिव शी युगाङ नेपाल आएपछि जयशंकर रुष्ट बन्ने पुगेको खुलेको छ । युगाङ विमानस्थलबाट सिधै होटल मेरियट पुगेका थिए। उनीसँगै आएको टोलीको आवासको व्यवस्था त्यहाँ गरिएको थियो। चाइना इस्टर्न एअरलाइन्सको उडान नम्बर एमयु ९६१७ मा काठमाडौँ आएको उपसचिव युगाङको नेतृत्वको छ सदस्यीय टोलीमा चाङ शिचिन, वाङ वेई, डुआन शाओरेन, चेक शुयुन र लि शिहाई छन्।

आफ्नो भ्रमणकै बेला किन उत्तरबाट नेता बोलाइयो भन्दै जयशंकर रिसाएपछि संयुक्त आयोगको बैठक भाँडिने अवस्थामा पुगेको थियो । जुन ढंगले बैठकको वातावरण हुनुपर्ने हो भएन । बैठकमा विभिन्न विषयमा समझदारी र सम्झौता त भयो तर नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच संयुक्त आयोगको बैठकको माइन्युट एक्सचेन्ज हुन सकेको थिएन ।

समय अभाव भन्दै बिहीबार एक्सचेन्ज नभएको माइन्युट शुक्रबार जयशंकर नयाँ दिल्ली फर्किन लागेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुवै मन्त्रीले एक्सचेन्ज गरेका थिए । यसले बिहीबार बैठक कस्तो तनावपूर्ण अवस्थामा सम्पन्न भएको रहेछ भन्ने दर्शाउँछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *