अर्थ

१४ किलो सुन तस्करीमा पनि अनुसन्धानको सुई माओवादी नेतातिरै

काठमाडौैं । ६० किलो र नौ किलो सुन तस्करीको अनुसन्धान पूरा नहुँदै फेरि १४ किलो तस्करीमा पनि सत्तारुढ दल माओवादीका नेताहरू तानिने सम्भावना बढ्दै गएको छ । १४ किलो सुन तस्करीको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले माओवादी नेताहरू संलग्न रहेको प्रमाण संकलन गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले १४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चन्द्र घले, मिनबहादुर गुरुङसहित १० जनाविरुद्ध डेढ अर्ब बिगो र पाँच वर्ष कैद सजाय माग गर्दै सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

१४ किलो सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवनकुमार गुरुङ संलग्न भएको हुन सक्ने बलियो आधार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले फेला पारेको छ । गत मंसिर २१ गते राति फ्लाई दुबईको विमानबाट काठमाडौं आएका चन्द्र घलेको साथबाट बरामद भएको १४ किलो सुनका विषयमा कार्यालयले अनुसन्धान गर्दा गुरुङले तस्करहरूसँग नियमित संवाद गर्ने गरेको पाइएको हो ।

भन्सार विभागका अधिकारीहरू पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पुनसँग निकट रहेका गुरुङ लामो समयदेखि सुन तस्करीमा संलग्न भएको दाबी गर्छन् । तस्कारीमा गुरुङ संलग्न हुन सक्ने आधार भेटिएपछि भन्सार कार्यालयले थप अनुसन्धान गर्न उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट प्रक्राउ पुर्जीसमेत जारी गरेको छ ।

पर्वतका ६२ वर्षीय गुरुङलाई प्रक्राउ गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिइसकेको छ । तर, उनी फरार छन् । गुरुङको राहदानी कालोसूचीमा राख्न अध्यागमन विभागलाई समेत पत्राचार गरेको छ । ‘२०८० मंसिर २१ गते गते फ्लाई दुवईको उडान नम्बर एफजेड ५७३ बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका गोरखाको बारपाक स्थायी ठेगाना भएका चन्द्र घलेको साथबाट बरामद भएको १४ केजी अवैध सुनका विषयमा अनुसन्धान हुँदा चोरीपैठारीमा संलग्न रहेको देखिएका व्यक्तिहरूले दिएको बयानबाट पर्वत जिल्ला साविक फलामखानी–२ स्थायी ठेगाना तथा हाल काठमाडौ बसोवास गर्ने रामबहादुर गुरुङका छोरा वर्ष ६२ को नाप्रनं ८७ र राहदानी नम्बर ०९८३०९४१ रहेका जीवनकुमार गुरुङको खोजतलास गर्दा निज फरार रहेको र देशछोडी भागी जान सक्ने हुनाले तहाँ विभाग तथा मातहत कार्यालयहरू सबैमा जानकारी गराई निजको राहदानी र नागरिकता समेत कालोसूचीमा राखि पक्राउ गर्न सहयोग गरिदिनुहुन अनुरोध छ,’ कार्यालयले पुस ८ गते अध्यागमन विभागलाई लेखेको पत्रमा उल्लेख छ ।

मीन घले र जीवन गुरुङबीच नियमित संवाद भएको भेटिएपछि गुरुङको विषयमा अनुसन्धान थालिएको हो । १४ केजी सुनसहित रंगेहात प्रक्राउ परेको चन्द्र घलेको बयानका आधारमा भन्सार कार्यालयले मिन घलेलाई पक्राउ गरेको थियो । मिन घले पक्राउ परेपछि गुरुङ फरार भएको बुझिएको छ ।


मिन घलेले बयानमा क्रममा जीवन गुरुङले काठमाडौंमा जम्मा हुने सुन सीमावर्ती क्षेत्रमा पु¥याउने गरेको बताएका छन् । गुरुङ काठमाडौंको कालिकास्थानमा रहेको प्लाटिनम कलेजका कार्यकारी अध्यक्षसमेत हुन् । सोमबार सरकारी वकिल कार्यालयले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३५ बमोजिम अनुसन्धान गर्ने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई अनुमति दिएको छ ।

राजनीतिक संरक्षणमा रहने र सबै दलसँगको सम्बन्धमा रहेका विमल पोद्दार पटक–पटक सुन तस्कारीमा संलग्न भएको भन्दै छानबिनमा परिसकेका व्यक्ति हुन् । पोद्दारलाई २०७५ सालमा समेत सुन तस्करीमा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गरेको थियो । यसपटक पनि भन्सार कार्यालयले पोद्दार माथि थप अनुसन्धान हुनु पर्ने निष्कर्ष निकालेको हो । उनी हाल फरार छन् ।

पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा संलग्न भएको भनिएको विद्युतीय चुरोट (भेप)मार्फत भएको नौ किलो सुन तस्करीमा समेत गुरुङको गतिविधि शंकास्पद भेटिएको थियो । उक्त घटनामा पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुनको समेत शंकास्पद गतिविधि फेला परेको प्रहरी स्रोतको दाबी छ । तर, प्रहरी प्रशासनले माओवादी नेताका छोराहरूमाथि अनुसन्धान अगाडि बढाउन सकेको छैन ।

माओवादी नेताहरूमाथि अनुसन्धान नभएको भन्दै सत्ता साझेदार दलका साथै संसदमा समेत निरन्तर प्रश्न उठेपछि प्रहरीले महरामाथि छानबिन सुरु गरेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गत भदौ १३ गते पूर्वसभामुख महराका छोरा राहुललाई प्रक्राउ ग¥यो । भेप प्रकरणमा संलग्न रहेको आरोप लागेका चिनियाँ नागरिक दाओजिङ वाङले नेपालमा बस्दा प्रयोग गर्ने गाडी जीवन गुरुङको नाममा रहेको भेटिएको थियो । भेप प्रकरणमा सीआईबीले गुरुङसँग बयान लिए पनि उनी माथि कुनै कारबाही अगाडि बढाएको थिएन । सुन तस्कर दावा छिरिङसँग माओवादी नेताहरू वर्षमान पुन, ओनसरी घर्ती, नन्दबहादुर पुन, राहुल महरा, दिपेश पुनलगायतको बसउठ रहेको प्रहरीले फेला पारिसकेको छ । जनयुद्धबाट आएलगत्तै जग्गा कारोबारी बनेर करोडौं कमाएका माओवादी नेताहरू अहिले सुन तस्करीमा संलग्न रहेको विभिन्न घटनाक्रमले देखाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *