रिबन

वैदेशिक रोजगारलाई व्यवस्थापन गर्न विभागलाई चुनौती

काठमाडौं । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या बढ्दो छ । नेपालीहरू विदेश अध्ययन, कामदार भिसा, भिजिट भिसा लगायतका काममा जाने गर्दछन् । वैदेशिक रोजगारीमा जाने नेपालीहरूले आफैंले सबै प्रक्रिया पु¥याएर जान असम्भव भएपछि मेनपावर व्यवसायीको भरमा पर्नुपर्ने बाध्यता छ ।

मेनपावर व्यावसायीहरूले वैदेशिक रोजगारीमा पठाउने नाममा धेरै ठगिने गर्ने गरेका छन् । पछिल्लो समय युरोप जाने नेपालीहरू बढी ठगीमा पर्ने गरेका छन् । विशेष गरी विभिन्न मेनपावर तथा कन्सल्टेन्सीले युरोप जाने नागरिकलाई बढी तलब दिलाइदिने र पहिला नै भुक्तानी गर्न लगाउने र सम्पर्कमा नआउने गरेका व्यवसायीहरू दैनिकजसो पक्राउ पर्न थालेका छन् । विशेष गरी माल्टा, रोमनिया, क्रोसिया, जापान, अस्ट्रेलिया जाने नेपालीलाई मेनपावर व्यवसायीहरूले ठग्ने गरेका छन् ।

वैदेशिक रोजगारीकै लागि खाडी मुलुक साउदी, कतार, मलेसिया, दुबई जाने नागरिकलाई पनि व्यवसायीहरूले मोटो रकम लिएर ठग्ने गरेका छन् । त्यतिमात्र होइन, व्यवसायीहरूले नक्कली प्रमाणपत्रसमेत बनाएर वैदेशिक रोजगारीमा नेपाली नागरिकलाई पठाउने गरेका छन् । केही समययता नेपालमा नक्कली भिजिट भिसाका आधारमा विदेशमा मानव तस्करी बढ्दो छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले केही दिनअघि नेपाल एयरलाइन्सका एक कर्मचारीलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका अध्यागमन विभागका अधिकृत नरवीर खड्काले नक्कली कागजातका आधारमा भिजिट भिसामा विदेश पठाएको आरोपमा अनुसन्धानका क्रममा ३२ जनालाई नियन्त्रण लिएर अनुसन्धान गरिरहेको छ । यस्तै, काठमाडौँका ६ वटा ट्राभल्स एजेन्सीका सञ्चालकले समेत नक्कली कागजात बनाएर नेपाली नागरिकलाई वैदेशिक रोजगारीमा पठाउने गरेका थिए ।

अन्ट्रा ट्रिप ट्राभल्सका सञ्चालक मनुराज चौधरी, रोलेक्स ट्राभल्सका सञ्चालक देवराज खनाल, होलिडे टुर्स एन्ड ट्राभल्सका सञ्चालक सरोजकुमार यादव, एचआर टुर्स एन्ड ट्राभल्सका रामप्रसाद भण्डारी, स्काई ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली र मञ्जरी ट्राभल्सका भक्तबहादुर थापाले नक्कली कागजात बनाएर वैदैशिक रोजगारीमा नेपालीहरूलाई भिजिट भिसामा पठाउने गरेको खुलेको छ । अहिले उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द पन्थीको नेतृत्वको प्रहरी टोलीले यस प्रकरणमा संलग्न भएको आरोपमा हालसम्म ३२ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । भिजिट भिसामा प्रयोग भएका कागजपत्र तथा भिसासमेत नक्कली रहेको पाएपछि बरामद गरिएको थियो ।

यस विषयमा वैदेशिक रोजगार विभागले व्यवसायीहरूको कुकर्मका बारेमा अध्ययन तथा अनुसन्धान गर्नसकेको छैन । विभागले मेनपावर व्यवसायीहरूले काम, कर्तव्य र जिम्मेवारीप्रति अनुगमणलाई तीव्रता नदिँदा व्यवसायीहरूले नेपालीहरूलाई वैदेशिक रोजगारी पठाउने क्रममा ठग्ने मनोबल बढेको देखिन्छ । नेपालीलाई वैदेशिक रोजगारीमा पठाउने क्रममा सम्बन्धित निकायले सही तरिकाले नपठाएपछि अहिले पीडित मारमा परेका छन् ।

मंगलबारमात्र वैदेशिक रोजगार विभागमा ९४ वटा गुनासो दर्ता भएको छ । जसमा मेनपावरले एकजनालाई ठगेको, अर्का एकजना कन्सलटेन्सीबाट ठगिएका छन् । वैदेशिक रोजगारीमा पठाएर ठगी गरेका मेनपावर व्यवसायीहरूबारे र न्यायका लागि ३८ जनाले उजुरी हालेका छन् ।

यस्तै अध्ययनका लागि विदेश पुगेका चारजनाले छात्रावृत्ति नपाएको भन्दै गुनासो पेस गरेका छन् । वैदेशिक रोजगारीबाट बिरामी परेकाहरूले आर्थिक सहयोगको माग गर्दै सातजनाले गुनासो दर्ता गरेका छन् । वैदेशिक रोजगारीमा मृत्यु भएका व्यक्तिका परिवारले आर्थिक सहायताका लागि चारजनाले गुनासो दर्ता गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *