काठमाण्डौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बनेको वर्ष दिन पुग्नेछ । गत साल काँग्रेससँग कुरा नमिलेपछि वालकोट पुगेर एमालेको वैशाखीमा प्रचण्ड प्रधानमन्त्री भएका थिए । तर,उनी प्रधानमन्त्री भएको दुई महिना लगत्तै फागुन १६ गते आफैले काँध थापेर बनाएको सरकारबाट नेकपा एमाले फागुन १६ गते बाहिरिन पुग्यो ।
एमाले भन्दा दुई दिन अघि जम्मा दुई महिना उपप्रधानमन्त्री भएर राजेन्द्र लिङ्गदेनको राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको थियो । तर,यी पार्टी सरकारबाट बाहिरिए पनि पुष्पकमल दाहाल प्रचण्डलाई भने कुनै असर परेन । उनलाई संसद्को सबैभन्दा ठुलो दल नेपाली काँग्रेसले टेको दियो र सरकार माथि आइपरेको साढे सातको दशा ट¥यो । यसै कारण ३२ सिटे माओवादी अहिलेसम्म सरकारको बागडोर सम्हालेर बसेको छ ।
गत वर्षदेखि यसरी प्रचण्ड नेतृत्वको सरकार टिकिरहेको छ । प्रचण्डलाई सरकारको साँचो सुम्पने बेलामा काँग्रेसले भागबन्डामा सहमति गरेको छ । भद्र सहमति अनुसार,प्रचण्डले दुई वर्ष,माधव नेपालले एक वर्ष र अन्तिममा काँग्रेसले चुनावी सरकारको नेतृत्व गर्नेछ ।
तर,सरकार बनेको वर्ष दिन पुग्नै लाग्दा प्रधानमन्त्री दाहालमा अनौठो छटपटी देखिन थालेको छ । गत साताको सोमवार मात्र लामो समय पछि पार्टी कार्यालय पेरिसडाडा पुगेका दाहालले सरकार ढाल्न दिनरात कोसिस भइरहेको भनेर मनभित्रको वह पोखेका छन् । पार्टी कार्यकर्ताको माझमा उनले अरूलाई यो सरकार देखेर निन्द्रा नै नलागेको बताएका छन् । तर सरकार ढाल्न कसैले नसक्ने उनको ठम्याइ छ ।
तीन दलबीच भएको सहमति अनुसार,प्रचण्डले दुई वर्ष सरकार चलाउनेछन् । यसपछि माधव नेपालको पालो आउनेछ । तर,केही महिना अघि स्वयम प्रचण्डले ‘मेरो पालो दुई वर्ष मात्र होला भनेको वातावरण हेर्दा पाँचै वर्ष सरकार चलाउने पालो आउला जस्तो छ’ भनेका थिए । उनको यो भनाइले निकै तरङ्ग पनि ल्याएको थियो ।
गठबन्धन दलहरूको बिचमा भुईँचालो ल्याउने यो भनाइको केही समयपछि अचानक प्रचण्डले सरकार ढाल्न षडयन्त्र भइरहेको बताएका छन् । प्रहरी प्रशासन देखि अन्तर्राष्ट्रिय शक्तिकेन्द्रसँग पहुँच र सूचना समेत हुने प्रधानमन्त्रीले बोलेको कुरालाई हचुवा कुरा भनेर पन्छाउन मिल्दैन । उनको कुरा नै हल्का हुने हो भने कसको
कुरालाई गम्भीर रुपमा लिने र? त्यसो भए प्रचण्ड सरकार ढाल्न कसले कोसिस गरिरहेको छ त ?
यति बेला प्रचण्ड सरकारलाई काँग्रेसको दरिलो साथ छ । अन्य दलको सहयोग पनि जारी छ । जबसम्म गठबन्धन कायम रहन्छ तबसम्म सरकार ढल्दैन । स्वयम काँग्रेसका इतर पक्षका नेताहरू समेत राम्रो काम गरे प्रचण्डलाई पाँचै वर्ष सरकारको साँचो सुम्पिन सकिने बताउन थालेका छन् । यदि यसो नगरी सरकार ढाल्न बल गर्ने हो भने काँग्रेसको इतर पक्षले सभापति शेरबहादुर देउवालाई कमजोर बनाउनुपर्नेछ ।
यसो भएमा गगन थापाले भने झैँ देउवा संसदीय दलको नेताबाट हटनेछन । तर,के यो सम्भव छ रु काँग्रेस केन्द्रीय समिति र संसदीय दलमा अपार बहुमत भएका देउवा जबसम्म पावरलेस हुदैनन तबसम्म प्रचण्ड सरकार हलचल हुँदैन । र,यो त्यति वेला ढिलपिल हुनेछ–जब देउवालाई सत्ताको भोक लाग्नेछ । तैपनि प्रधानमन्त्री सरकार ढाल्न षडयन्त्र भइरहेको किन भनिरहेका छन् ? के यो सार्वजनिक खपतका लागि वा आम कार्यकर्तालाई हामी अप्ठ्यारोमा छौँ भनेर समर्थन लिनको लागि मात्र हो त ?
अझ रोचक कुरा के छ भने सरकार ढल्न लाग्यो भनेर हल्ला चलिरहेकै बेलामा सरकार मन्त्रीहरूले काम देखाउन थालेका छन् । अर्थमन्त्री डा. प्रकाश शरण महतले दुई दिनमा नै करिब १३ अर्ब रुपैयाँ राजश्व सङ्कलन गरेर चमत्कार गरिदिए । सङ्कटमा पुगेको अर्थतन्त्रलाई उकास्न यसले ठुलो मद्दत गर्नेछ ।
प्रचण्डले सरकार ढाल्न खोजिँदै छ भनिरहँदा पश्चिम देखि पूर्वतिरको सङ्कल्प यात्रा गरेको नेकपा एमालेले सरकारले कामै गर्न नसकेको बताइरहेको छ । एमाले अध्यक्ष केपी ओलीले प्रचण्डले सरकार छाडे हुन्छ भनेर भाषण नगरेका होइनन् । नेताले यस्ता भाषण सत्ता नपाएर काकाकुल भएका मध्यम तहका नेता र आफ्नो पार्टी सरकारमा गएको हेर्न चाहने कार्यकर्तालाई थुमथुम्याउन गरेको भनेर सबैले बुझेका छन् । अर्थात् प्रचण्डलाई न सहयात्रीबाट सङ्कट छ न विपक्षीबाट । र,इतिहास साक्षी छ–नेपालको गठबन्धन सरकार जहिले पनि गठबन्धनकारी दलमा नै असमझदारी बढेपछि मात्र ढलेको छ ।
हुन त सरकारमा सामान्य समस्या नदेखिएका होइनन् । स्वयम माओवादी पङ्क्तिभित्र वर्षमान पुन र जनार्दन शर्माबिचको जुँगाको लडाइ नचर्केको होइन । जनार्दन शर्मा र शक्ति बस्नेत बिचको लडाइ पनि छताछुल्ल भएको छ । जाजरकोट र रुकुम पश्चिममा भूकम्प जाँदा सहयोग जति रुकुम लगियो भनेर सञ्चार माध्यमामा चर्चा चलेपछि शर्मा यतिञ्जेलपनि गाउँमा भूकम्पपीडितको छाप्रा बनाएर बसेका छन् ।
यसपछि छापामा प्रायोजित समाचार आएका छन्–शर्मा गाउँमा पीडितको साथमा,मन्त्री बस्नेत कता छन् र? कुरा यति मात्र होइन,आफूलाई अत्यन्त क्रान्तिकारी र प्रगतिशील ठान्ने माओवादीले कार्यकर्तालाई जनवादी विवाह गराउने तर आफ्नो नातिनीको विवाह भने हजार जना निम्तालु वोलाएर गोकर्ण रिपोर्टमा राजा महाराजाको भन्दा भव्य भोज गर्ने प्रवृत्तिले माओवादी नाङ्गिएको छ ।
माओवादी कै युवा नेता लेखनाथ न्यौपानेले लेखेका छन्–लुम्बिनी विकास कोषबाट सुरु भएको प्रगतिशील पथ गोकर्णमा पुगेर समापन भयो । साँच्चै भन्ने हो भने प्रचण्डलाई यति वेला माओवादी कै व्यवस्थापन कसरी गर्ने भन्ने कठिनाइ भइरहेको छ । आफनै राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दिएको राजीनामा उनको लागि गलपासो भएको छ ।
प्रधानमन्त्रीलाई अहिले सांसद अमरेश कुमार सिंहले एनसेल प्रकरण देखि दपेटिरहेका छन् । उनले प्रधानमन्त्रीको छोरीले बार्गेनिङ गरेको अडियो सार्वजनिक पनि गरेका छन् । यसको पुरा विवरण अदालतमा पेस गर्ने उनले बताएका छन् । एक समय केपी ओलीसँग दुर्गा प्रसाईँ भिडिरहेका थिए भने यति वेला अमरेश प्रचण्डसँग भिडिरहेका छन् ।
नेपाली कम्युनिष्टहरुको लागि शत्रु अनिवार्य छ । कोही नभए आफनै छायासँग पनि उनीहरू लडेर वस्छन । यति वेला प्रचण्डलाई आफनै छाया नै दुस्मन भएको छ किनभने दलाल पुजिवाद मित्र भइसकेको छ ।