काठमाडौं । एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले पाकिस्तानलाई १८० रनको लक्ष्य दिएको छ । श्रीलंकाको कोलोम्बो क्रिकेट क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३७ ओभरमा अलआउट हुँदै १७९ रन मात्र बनाउन सक्यो ।
नेपालका सोमपाल कामीले ७५ रनको योगदान दिए । १० ओभरमा नेपालले ६ विकेट गुमाउँदै ४३ रन बनाएको थियो । पाकिस्तानका दुई युवा तीव्र गतिका बलर मोहम्मद वासिम जुनियर र शाहबाज दाहानीको गतिसामु नेपालका शीर्ष ब्याटर सबै निरीह बनेका थिए ।
पाकिस्तान ए लाई सिनियर टोलीका दोस्रो रोजाई बलर मोहम्मद वासिम जुयिनर र दाहानीले सुरुवात गरेका थिए । यी दुबै बलरले पाकिस्तानबाट खेल्दै आएका छन् । प्रमुख बलर घाइते भएमा मौका पाउने गर्दछन् ।
नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल एक, आशीफ शेख १२, अर्जुन साउद १७, कपतान रोहित पौडेल चार र भीम सार्की शून्य रनमै आउट भए । कुशल मल्ल १७, पवन सर्राफ १, गुलसन झा १३ र प्रतीस जिसीले २६ रन बनाए ।




