देश

सामन्त गोयलकै शैलीमा बालुवाटारमा क्वात्राको मध्यराति प्रवेश

काठमाडौं । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला भारतीय जासुसी संस्था ‘रअ’ का प्रमुख प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका थिए । जुन भेटले नेपालको राजनीतिमै उथलपुथल ल्याइदियो । ओलीको कुर्सी ढल्नुमा यो पनि एउटा कारण बनेको थियो । तत्कालीन नेकपा विभाजन हुनुमा पनि गोयल ओली भेट प्रमुख कारण बनेको थियो । तत्कालीन नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले ओलीलाई गम्भीर आरोप लगाएका थिए । तर अहिलेसम्म ओलीले त्यसको प्रतिवाद वा खण्डन गर्न सकेका छैनन् ।

२०७७ कात्तिक ५ को राति ‘रअ’ प्रमुख सामन्त गोयल बालुवाटार पुगेर ओलीसँग भेट गरेकै शैलीमा भारतीय विदेश सचिव विनयमोहन क्वात्राले प्रधानमन्त्री प्रचण्डलाई दुई घन्टा भेटका छन् । सोमबारका सम्पूर्ण भेट सकेपछि क्वात्रा राति बालुवाटार प्रवेश गरेका थिए ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल भारत सचिवस्तरीय बैठकमा सहभागी हुन आएका सचिव क्वात्राले प्रधानमन्त्री प्रचण्डसँग दुई पटक भेटघाट गरेका छन् । पहिलोपटक फागुन १ गते औपचारिक भेटघाट गरेका क्वात्राले मंगलबार साँझ बालुवाटारमा अनौपचारिक भेटघाट गरेका हुन् ।

राष्ट्रपति निर्वाचनमा सत्तारुढ दल र प्रतिपक्ष दलबीच सहमति हुन नसकिरहेको तथा त्यसमा राजनीतिक दलहरुबीच घोचपेच भइरहेको बेला विदेश सचिव क्वात्राले संघीय संसद्का ठूलादेखि साना दलसम्मका नेताहरुसँग गरेको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ । मुख्यतः राष्ट्रपतिको निर्वाचन र सत्तारुढ गठबन्धनका भविष्यका बारेमा उनले चासो व्यक्त गरेका थिए । सबै राजनीतिक दलका नेतासँग भेटवार्ता गरेपछि विदेश सचिव क्वात्राले अन्तिममा प्रधानमन्त्री प्रचण्डसँग ‘अनअफिसियल’ भेटघाट गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

प्रचण्ड र क्वात्राबीचको भेटवार्तापछि चाँडै नेपालको राजनीतिमा फेरबदलको सम्भावना रहेको अनुमान गर्न थालिएको छ । एमाले महासचिव शंकर पोखरेलले बुधबार बिहान पुनः देश राजनीतिक अस्थिरतातर्फ उन्मुख भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । ‘राजनीतिक अस्थिरताले भूराजनीतिक द्वन्द्वलाई मलजल गर्ने हो । मुलुकको हितमा स्थायित्वको खोजी गरौं, स्थायित्वलाई प्रवद्र्धन गरौ । अस्थिरताले विकास र समृद्धिलाई मात्र होइन, स्वाधीनता र स्वाभिमानको यात्रामा समेत अवरोध पुर्याउँछ भन्ने कुरा वुझ्न ढिला भएन र रु’ पोखरेलले लेखेका छन् । प्रचण्ड र क्वात्राको भेटपछि उनले यस्तो संकेत गरेको हुनसक्ने बताइन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *