काठमाडौं । पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धन गरेर जाँदा सबै दललाई समान ढंगले सिट बाँडफाँड हुनुपर्ने बताएका छन् ।
आज (मंगलबार) प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली चियाको गुणस्तरबारे भारतमा विभिन्न प्रतिवेदन पेस भइरहेकोबारे जानकारी गराउन बालुवाटार पुगेका उनले प्रधानमन्त्रीसँगको भेटपछि यस्तो बताएका हुन् ।
उनले गठबन्धनमा अहिले दलहरू थप्ने विषयमा जे आधारमा थपिएको छ, त्यही आधारमा आवश्यक तालमेल गर्नुपर्ने बताएका छन् । नेता खनालले प्रत्येक पार्टीको आफ्नो हैसियत हुने भएकाले ०७४ को निर्वाचन र हालै सम्पन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर आगामी प्रदेश र संघको निर्वाचनमा सिट बाँडफाँड गर्न आवश्यक रहेको बताए ।
उनले गठबन्धनमा सहभागी दललाई अपमान गरेमा तालमेल नहुने भन्दै सबैलाई दललाई समान रूपमा सिट बाँडफाँड गर्ने गरी अघि बढ्नुपर्ने बताए । उनले वाम एकताका लागि सबैभन्दा ठूलो दलको पहल नरहेको भन्दै तत्काल कुनै पनि बृहत् वाम एकताको सम्भावना नरहेको दाबी गरे ।
नेता खनालले परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन भ्रमणमा जान लागेकोबारे यो महत्वपूणर् भ्रमण रहेको बताए । उनले चीन भ्रमणमा जाँदा नेपालले चीनसँग गरेको बिआरआई सम्झौता र सीमा समस्या र सम्भव हुने सहमतिबारे जोड दिनुपर्ने बताएका ।
उनले नेपाल एक चीन नीतिमा तटस्थ रहेको भन्दै हङकङ, ताइवान, तिब्बत चीनकै भएको बताए । उनले यी क्षेत्रमा जुनकुनै वेलामा पनि चीनले दाबी गर्न सक्ने बताए । उनले परराष्ट्रमन्त्रीले चीन भ्रमणमा नेपालले चीनबाट लिन सक्ने सहयोगको उचित फाइदा लिन पहल गर्नुपर्ने बताए । पूर्व प्रधानमन्त्री खनालले वेलावेलामा नेपाल-चीन सीमा विवाद आइरहने भन्दै यसको दीर्घकालीन समस्या समाधानका लागि पनि परराष्ट्रमन्त्रीको भ्रमणले सहयोग पुग्नेमा विश्वस्त रहेको बताए ।




