देश

तत्काल समाजवादी केन्द्र बन्दैनः अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन् । राजधानीमा आजदेखि शुरु भएको प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले आसन्न निर्वाचनमा परिवर्तन पक्षधर वामपन्थीको मोर्चा बनाउन खोजिएको प्रष्ट्याए ।

“तत्काल समाजवादी केन्द्र बन्दैन, निर्वाचनका लागि वामपन्थीको मोर्चा बनाउन खोजिएको हो”, उनले भने , “त्यसमा छलफल जारी छ, निष्कर्ष निस्केको छैन ।” वर्तमान सत्ता गठबन्धनमा रहेको वामपन्थी शक्तिहरु आगामी निर्वाचनमा मोर्चा बनाएर जान लागेका छन् । त्यसका लागि नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) जनता समाजवादी पार्टीलगायत दल आन्तरिक छलफलमा जुटेका छन् । 

अध्यक्ष दाहालले नेपाली राजनीतिको मूलधार माओवादी आन्दोलन भएको भन्दै जनताको असली पार्टी माओवादी भए पनि यो विषयलाई स्थापित गर्न नसकिएको बताए । माओवादी पार्टीको दबाबमा ‘स्टेट पार्टनसीप प्रोग्राम’ (एसपिपी)लाई नेपाल सरकारले अस्वीकार गरेको जनाउँदै उनले विगतमा एसपिपीमा सहभागी हुनुपर्छ भनेर लागि परेको पार्टी र नेता अहिले बढी राष्ट्रवादी देखिन खोजेको बताए  ।

निर्वाचनसम्म वर्तमान गठबन्धनलाई कायमै बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्दै उनले  आगामी निर्वाचनसम्म र आवश्यकता रहँदासम्म गठबन्धन कायम रहने बताए  । “परिवर्तनका एजेण्डा उल्ट्याउने प्रवृत्ति अहिले पनि जारी छ । त्यसकारण पनि गठबन्धन आवश्यक छ”,  उनले बताए  । इतिहासकै राम्रो बजेट ल्याएको पूर्वअर्थमन्त्रीका बारेमा प्रतीपक्षी दलले अनावश्यक कुप्रचार गरेको उहाँले बताउनुभयो । “छानबिन समितिले प्रतिवेदन बुझाएको छ, पूर्वअर्थमन्त्री निर्दोष सावित भए  । यसले पनि पुष्टी गरेको छ”, अध्यक्ष दाहालले भने  । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *