काठमाडाैँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विज्ञानबिना कुनै पनि खाले क्रान्ति सफल नहुने बताएका छन् । बिहीबार काठमाडाैँकाे हिमालयन हाेटलमा अल्टरनेटिभ फाउन्डेसनद्वारा आयाेजित नेपालमा विज्ञान तथा सूचना प्रविधिसम्बन्धी ‘नीति संवाद’लाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् । ‘विज्ञानबिना अब कुनै पनि खाले क्रान्ति सम्भव हुँदैन,’ उनले भनेका छन् ।
उनले विचार र विज्ञानलाई भाैतिक शक्तिका रूपमा रूपान्तरण नगरी अहिलेका मुलुकहरूमा कुनैखाले क्रान्ति र विकास नहुने स्मरण गराए । ‘विचारलाई भाैतिक शक्तिमा रूपान्तरण गर्न सनेनाैँ भने हामीले कुनैखाले क्रान्ति सफल बनाउन सक्दैनाैँ । याे डिजिटलाइजेसनकाे युगमा विज्ञानलाई पनि भाैतिक शक्तिका रूपमै रूपान्तरण गर्नुपर्छ । अब विज्ञान र विचारलाई मानवजातिकाे भलाइका लागि प्रयाेग गर्न सक्नुपर्छ, यदि सकेनाैँ भने हामी तलै रहन्छाैँ,’ उनले भनेका छन् ।
उनले वाम एकताकाे उपादेयता नसकिएकाेसमेत बताएका छन् । ‘नेपालमा वैज्ञानिक विचार राख्नेहरू कम्युनिष्टहरू नै हुन्,’ उनले भनेका छन्, ‘अझै पनि वैज्ञानिक समाज निर्माणका लागि इमान्दार साेच राख्ने वामपन्थी साथीहरू एकठाउँमा आउनैपर्छ, त्यसकाे आवश्कयता र उपादेयता सकिएकाे छैन । हिजाे पनि म यसकाे प्रस्तावक थिएँ, अझै पनि मै यसकाे इमान्दार प्रस्तावक हुन्छु ।’




