काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन टुटे देश दुर्घटनामा जाने बताएका छन् ।
काठमाडौँमा आज (मंगलबार) नेपाल ट्रेड युनियन काँग्रेसले आयोजना गरेको स्व. नेता गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले गठबन्धनरुपी विमान आकाशमै रहेकाले सुरक्षित अवतरण नगरे दुर्घटनातर्फ जाने बताए ।
उनले आउँदो मंसिरपछि मात्रै सम्भवतः गठबन्धनरुपी विमानले सुरक्षित अवतरण गर्ने बताए । उनले संविधानको रक्षा गर्नका लागि गठबन्धन सरकार बनेको र बीच बाटोमा पुगेर दलहरुले एकअर्काप्रति आरोप, प्रत्यारोप गर्नु नहुने बताए । जहाजबाट प्यारासुट जम्प गर्दा दुर्घटना निम्तिने बताए । उपसभापति गुरुङले गठबन्धनै दलहरुले काँग्रेस इमान्दार भएन भनेर झगडा गर्दा संविधान नजोगिने बताए ।
उनले थपे, ‘स्थानीय निर्वाचनमा हामी पाँच दल एउटै जहाज चढ्यौं । जहाज उडिसकेको छ । आकाशामा छ । तर ल्याण्डिङ भएको छैन । अब हामीले त्यो जहाजलाई सेफ ल्याण्डिङ कसरी गर्ने ? भनेर चिन्तन र चिन्ता गरिरहेको बेलामा त्यही जहाजभित्र बसेर साथीहरुले ङ्यारङ्यार ङुरङुर गर्न हुन्न भन्ने मेरो ठहर छ । जहाजलाई सेफ ल्याण्डिङ गर्नेपर्ने हाम्रो दायित्व छ ।’
उपाध्यक्ष गुरुङले भने, ‘या त हामीले जहाजबाट प्यारासुट जम्प गर्नुपर्छ । तर खुट्टा भाँचिन्छ की भन्नेपनि हामीलाई त्रास छ । जम्प पनि गर्नुभएको छैन, धेरै माथि उडेको छ । १० हजार, साढे १० हजा फिट माथि उडिरहेको छ । अहिले जहाज । अब त्यसलाई सेफ ल्याण्डिङ गर्ने बेलामा कसैले काँग्रेस इमान्दार भएन भन्ने, अर्को दल इमान्दार भएन भनेर आकाशमा उडिरहेको जहाजमाथि हामीले झगडा शुरु गर्ने हो भने जहाजले सेफ ल्याण्डिङ गर्न सक्दैन । हाम्रो मिसन भनेको संविधान जोगाउने मिसन हो। हामीले जहाज ल्याण्डिङ नगर्दै एकले अर्कालाई आरोप प्रत्यारोप लगाउने हो भने हामी अपरिपक्व राजनीतिज्ञ हौँ भन्नेकुरा हामी आफैँले प्रमाणित हुन्छ । हामी आउने मंसिरतिर सायद मलाई लाग्छ जहाज सेफ ल्याण्डिङ गर्नसक्छौँ भन्ने विश्वास छ ।’
उपसभापति गुरुङले गठबन्धनभित्र नै एक दलले अर्को दललाई आरोप लगाउँदा अपरिपक्व राजनीतिज्ञले देश सञ्चालन गरेके पुष्टि हुने दाबी गरे ।




