रिबन

प्रचण्डले आरोपपत्र फिर्ता नलिँदा नेकपा जोगिएन : वामदेव गौतम

काठमाडौँ । पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले कांग्रेस र कम्युनिस्ट पार्टीहरू मिल्दा मात्रै नेपालमा परिवर्तन र विकास सम्भव भएको बताएका छन् । शनिबार ‘नेकपा राष्ट्रिय एकता अभियान’ को दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै गौतमले आफूले प्रयास गरेको भए पार्टी विभाजन नहुने थियो आत्मालोचना गरेका छन् ।

उनले प्रचण्डले ‘संगीन आरोपपत्र’ फिर्ता लिएको भए नेकपा फुटबाट जोगिन्थ्यो कि भन्ने अहिले पनि लागिरहेको बताएका छन् । उनले आफूलाई धेरैजसोले वामदेवका कारण पार्टी विभाजन भएको भनेर आरोप लगाउने गरेको गुनासो गरे । ‘धेरैले वामदेवकै कारण विभाजित भयो भने आरोप लाग्यो,’ गौतमले भने, ‘मैले पनि गल्ती गरेकै हो भनेर आजको प्रस्तावमा पनि लेखेको छु । वामदेव लागेको भए पार्टी जोगाउन सकिन्थ्यो भन्नुभयो । यो साँचो हो, म लागेको भए पार्टी विभाजन हुँदैनथ्यो । म आत्मालोचित भएको छु ।’

पहिले गाली गरे पनि कांग्रेस परिवर्तन र सुधारको पक्षधर पार्टी भएको उनको भनाइ थियो । ‘पहिले हामीले नेपाली कांग्रेसलाई गाली गर्‍यौँ । यो दलाल पुँजीपतिहरूको पार्टी हो भनेर भन्यौं । तर नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी नमिल्दासम्म कहिल्यै पनि जनताले अधिकार पाएनन् । नेपालको विकास निर्माणको काम पनि अगाडि बढेन,’ उनले भने ।
कांग्रेस र कम्युनिस्ट पार्टीकै कारण संवैधानिक लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उनको भनाइ थियो । ‘जब दुईटा पार्टी मिले खोसिएको जनताको अधिकार सुस्त सुस्त प्राप्त हुने काम सुरु भयो । सबैभन्दा पहिले २०४७ सालमा संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र पुनःस्थापना भयो । त्यसपछि कांग्रेस र कम्युनिस्ट मिले, राजतन्त्र समाप्त भयो र संवैधानिक लोकतान्त्रिक गणतन्त्र स्थापना भयो,’ उनले भने ।

कांग्रेस र कम्युनिस्ट मिलेर गरेका आन्दोलन मात्रै सफल भएको उल्लेख गर्दै गौतमले भने, ‘नेपालमा कांग्रेसले एक्लै नेतृत्व गरेका आन्दोलन पनि सफल भएका छैनन्, कम्युनिस्ट एक्लैले गरेका आन्दोलन पनि सफल भएका छैनन् । दुईटा मिलेर गरेका आन्दोलन मात्र सफल भएका छन् । यसबाट के पुष्टि हुन्छ भने नेपाली कांग्रेस दलाल नोकरशाही पुँजीपति वर्गको पार्टी होइन । यो पुँजीवादी पार्टी हो । सुधारवादी पार्टी हो । राष्ट्रिय हितका निम्ति वकालत गर्ने राष्ट्रिय पुँजीवादी पार्टी हो । त्यसकारण कांग्रेस कम्युनिस्ट पार्टीको पनि मित्र पार्टी हो ।’

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका दलहरूलाई दबाब दिएर एमसीसी सम्झौता संसद्बाट पारित गराएको पनि गौतमले बताए । ‘कांग्रेसलाई मात्र नेतृत्व सुम्पने हो भने नआउनुपर्ने एमसीसी जस्ता कार्यक्रमहरू आउँछन् । एमसीसी पनि कांग्रेस प्रधानमन्त्री शेरबहादुर देउवाका पालामै तत्कालीन अर्थमन्त्रीले हस्ताक्षर गर्नुभयो । अहिले पनि गठबन्धनका पार्टीलाई उहाँले दबाब दिनुभयो । त्यसपछि प्रचण्ड पनि प्रचण्ड रहनु भएन उहाँ पुष्पकमल दाहाल मात्र रहनु भयो । माधव नेपाल पनि खुट्टा कमाउन्नँ भन्नु हुन्थ्यो तर त्यसो भएन,’ उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *