काठमाडौं । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकामध्ये करिब चार हजारले फिर्ता लिएका छन् । वैशाख ११ र १२ गते मनोनयन दर्ता सम्पन्न भएकामा आज ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन समय दिइएको थियो । निर्वाचन आयोगका अनुसार प्रणाली यकिनरूपमा प्रविष्ट भइनसके पनि करिब चार हजारले फिर्ता लिएका छन् ।
सत्ता गठबन्धनमा रहेका अन्य दलहरुसँग चुनावी तालमेल गरेको कांग्रेसले देशभरबाट ३१ हजार बढि उम्मेदवारहरु उठाएको छ । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा रहेका ५ दलमध्ये सबैभन्दा धेरै उम्मेदवार कांग्रेसले उठाएको छ । आयोगका अनुसार काँग्रेसले विभिन्न पदमा ३१ हजार ४२५ उम्मेदवार उठाएको छ ।
नेकपा एमालेले आसन्न स्थानीय तहको चुनावका लागि ३३ हजार बढि उम्मेदवार उठाएको छ । निर्वाचन आयोगका अनुसार नेकपा एमालेले सबै पदमा गरी ३३ हजार ५ सय ३ जना उम्मेदवार उठाएको हो । एमालेले नगर प्रमुखमा २९१ जना, गाउँपालिका अध्यक्षमा ४४७ जना उम्मेदवार उठाएको छ ।
स्थानीय तहको चुनावका लागि देशभरबाट १२ हजार बढिले स्वतन्त्र उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार चुनावका लागि देशभरबाट १२ हजार ७८९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । ३५ हजार २२१ पदका लागि हुने चुनावमा राजनीतिक दल र स्वतन्त्र गरी १ लाख ५३ हजार २ सय २० जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।
निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा ७५३ वटै स्थानीय तहका गतगणनास्थलमा अनिवार्यरुपमा सीसी क्यामराको प्रबन्ध गर्न लगाएको छ । मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागिसमेत उपयोगी हुने भएकाले सीसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिइएको हो ।
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रिय कार्यालयमा सो घोषणा पत्र सार्वजनिक गरिएको हो ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदबाट निलम्बन गर्ने निर्णयलाई सर्वोच्च अदालतले प्रथम दृष्टिमै ‘पूर्वाग्रही र बदनीयतापूर्ण’ ठहर गरेको छ । सुविधा र सन्तुलनको दृष्टिले पनि अधिकारीलाई बढी मर्का देखिएको भन्दै मुद्दाको अन्तिम निर्णय नभएसम्म गभर्नर पदबाट निलम्बनका लागि २४ र २५ चैतमा भएको प्रक्रियासहितको निर्णयसँगै अधिकारीको नाममा गरिएको पत्राचार कार्यान्वयन नगर्न आदेश दिएको छ ।
विधुत प्राधिकरणले उद्योगीलाई विद्युत उपभोग गर्न नदिँदा उत्पादनमा कटौती हुँदै आएको छ । विगत एक महिनादेखि विद्युतको समस्या झेल्दै आएका रुपन्देहीका उद्योगी यो सातबाट २४ घण्टा नै अघोषित रूपमा लोडसेडिङको मारमा परेका छन् । अघोषित लोडसेडिङ, लो भोल्टेज, ट्रिपिङलगायतका समस्याका कारण रुपन्देहीका उद्योग बन्द सरह रहेको सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले बताए ।
इन्डोनेसियाको उत्तरी भागमा पर्ने सुमात्रा प्रान्तमा बिहीबार दिउँसो पहिरोमा परी सुन खानीमा काम गर्ने १२ जना महिला कामदारको मृत्यु भएको छ । अवैधानिक रुपमा सञ्चालन हुँदै आएको सुन खानीमा काम गर्ने कम्तीमा १२ जना महिलाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका स्थानीय प्रहरीले शुक्रबार जानकारी दिएका छन् ।
राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले जिम्बावे ‘ए’सँगको सिरिज जित्ने लक्ष्य रहेको बताएका छन् । जिम्बावे ‘ए’ विरुद्धको खेलअघि प्रतिक्रिया दिदै लामिछानेले टिमको मुख्य लक्ष्य सिरिज जित्नु भएको बताए । उनले भने,‘सिरिज जित्ने मुख्य लक्ष्य हो । जिम्बावे ए पनि बलियो टोलीको रुपमा ठानेका छौं । यो सिरिज जितेर समर्थकलाई खुसी दिलाउने योजना छ ।’




