काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘ट्यूसन’ पढाउने बताएका छन् । बुधबार बत्तीसपुतलीकाे अनुपम फूड्ल्यान्डमा आयाेजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै थापाले यस्ताे बताएका हुन् । यसअघि मंगलबार ओलीले नेपाली कांग्रेसले एमालेकाे हेरेर चुनावी घाेषणापत्र बनाएकाे अभिव्यक्ति दिएका थिए । यसकाे जवाफस्वरूप थापाले यस्ताे बताएका हुन् । ‘म उहाँलाई फुर्सदमा बालकाेट नै गएर ट्यूसन पढाउँछु,’ थापाले भने ।
थापाले कांग्रेसकाे घाेषणापत्र एमालेकाेभन्दा धेरै विकसित र व्यवहारिक भएकाे दाबीसमेत गरेका छन् । प्रतिकात्मक रूपमा केमेस्ट्रीकाे जाँच दिने परिक्षार्थीले फिजिक्सकाे विद्यार्थीकाे केही नचाेर्ने थापाले बताए । ‘एमाले र कांग्रेकाे घाेषणापत्रबीच व्यवहारिक रूपमा धेरै फरक छ,’ उनले भनेका छन् ।
पार्टीकाे १४औं महाधिवेशनमा महामन्त्रीकाे उम्मेदवारका रूपमा अवधारणापत्र सार्वजनिक गरेकाे बेला थापाले समुन्नत नेपालकाे अवधारणा ल्याएका थिए । त्यसबेलामा पनि ओलीले आफ्नाे समृद्ध नेपालकाे धारणा चाेरेकाे बताएका थिए । त्यसलाई स्मरण गर्दै थापाले थपे, ‘यसटकचाहिँ ट्यूसन पढाउँछु पढाउँछु । अहिले त उहाँलाई पनि भ्याइनभ्याइ छ, मलाई पनि त्यस्तै छ । तर केही साम्य भएपछि म बालकाेट गएर पढाउँछु ।’
‘अन्यायको एक/एक हिसाबकिताब हुन्छ’
थापाले फरक प्रसङ्गमा पार्टीभित्र भएकाे अन्यायकाे एक/एक हिसाबकिताब हुने बताए । थापा रहेकाे संस्थापनइतर पक्षका नेताहरूले स्थानीय तहकाे निर्वाचनका लागि बाँडिएकाे टिकटमा कुनै नेतालाई अन्यायपूर्ण व्यवहार गरिएकाे बताइरहेका छन् । यहीतर्फ इङ्गित गर्दै थापाले भनेका छन्, ‘एक/एक हिसाब हुन्छ । निर्वाचनपछि हामी जत्ति पनि परेका उजुरीहरू छन्, त्यसबारे अनुसन्धान गर्छाैँ । र एकएकलाई कारबाही गर्छाैँ । अन्याय गर्नेले दण्डकाे भागीदार बन्नैपर्छ ।’
उनले थपे— ‘पार्टी एउटा निर्णय गरेर चुनावमा होमिन्छ, चुनावअघि मतभेद हुन्छ, चुनावपछि पनि मतभेद हुन्छ तर चुनावका बेला पार्टीको निर्णय मान्नुपर्छ ।’ उनले स्वतन्त्र उम्मेदवारी दिएकाहरूलाई फिर्ता लिन पनि आग्रह गरे । ‘स्वतन्त्र उम्मेदवारी दिने साथीहरूलाई म विनित भएर अनुरोध गर्न चाहन्छु, हामीसँग दुई दिन समय छ, तपाईंहरूकाे अन्यायको हिसाब किताब हुन्छ, त्यो अन्यायको क्षतिपूर्ति हुने गरी निर्णय गर्ने ठाउँसम्म पुर्याउँछु ।’
उनले अहिले भने चुनावकेन्द्रित भएर काम गर्नसमेत आग्रह गरेका छन् ।




