काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो २ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएको उनका प्रेम विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।
प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारूढ दलका सांसदहरुले आइतबार बिहान सवा १० बजे सिंहदरबारस्थित संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता गराएका थिए ।
प्रस्तावमा प्रधानन्यायाधीश राणालाई कार्यक्षमता नभएको अभियोग लगाइएको छ । सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार सो महाअभियोगको प्रस्तावक नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङ, नेपाली कांग्रेसका डा. पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी)का जीवनराम श्रेष्ठ छन् । यस्तै समर्थकमा नेपाली कांग्रेसका डा. मीनेन्द्र रिजालसहित ९५ सांसद छन् । यता सोमबार बोलाइएको प्रतिनिधिसभाको बैठक भने यही फागुन ४ गते बुधबारका लागि सारिएको छ ।
उता नेकपा एमालेले महाअभियोगको प्रतिवाद गर्ने बताइसकेको छ । उसले सोमबार बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ । सभामुखले बोलाएको सर्बदलीय बैठकमा जाने कि नजाने भन्नेबारे सर्वदलीय बैठकमा छलफल हुने छ । सभामुखलाई महाअभियोग लगाउन माग गरिरहेको एमालेले उनैले बोलाएको सर्वदलीय बैठकमा नजाने सम्भावना छ ।




