राजनीति

कांग्रेस महाधिवेशन: बोल्ड नेतृत्व, एक्सन ओरिएन्टेड पदाधिकारी

काठमाडौं । १३ औं महाधिवेशनमा कोइराला परिवारबाट कांग्रेस नेतृत्व खोसेर बहुमतको सभापति बनेका शेरबहादुर देउवा १४ औं महाधिवेशनमा झ्न शक्ति सम्पन्न सभापति बनेका छन् । पदाधिकारीसम्मको चुनावी परिणाम हेर्दा देउवा केन्द्रीय समितिमा शक्ति सम्पन्न बन्ने आँकलन गर्न कुनै कठिनाइ छैन ।

कांग्रेसका १३ पदाधिकारीमध्ये देउवा प्यानलबाट सभापतिसहित ८ जना पदाधिकारी निर्वाचित भएका छन् । डा. शेखर कोइरालाको प्यानलबाट ४ जना पदाधिकारी निर्वाचित भएका छन् । यसै गरी प्रकाशमान सिंहको प्यानलबाट एक महामन्त्री निर्वाचित भएका हुन् । सदस्यहरुको चुनावी परिणाम सार्वजनिक भएको छैन । यद्यपि मत गणना भने जारी छ ।

अहिलेसम्म सार्वजनिक भएको परिणाम अनुसार पूर्णबहादुर खड्का र धनराज गुरुङ उपसभापतिमा निर्वाचित भएका छन् । यसअघि खड्का पार्टीको महामन्त्री र गुरुङ केन्द्रीय सदस्य थिए । विजयकुमार गच्छदार, महेश आचार्य र सुजाता कोइराला उपसभापतिका प्रत्यासी बनेका थिए ।

महामन्त्रीमा युवा नेता विश्वप्रकाश शर्मा र गगनकुमार थापा निर्वाचित भएका छन् । शर्मा यसअघि पार्टी प्रवक्ता र थापा केन्द्रीय सदस्य थिए । डा. प्रकाशशरण महत, डा. मीनेन्द्र रिजाल, प्रदिप पौड्याल र डा. राजाराम कार्की महामन्त्रीका प्रत्यासी बनेका थिए । टिमभित्रकै अन्तरघातले देउवा प्यानलबाट महामन्त्री लडेका डा. महत पराजित बनेको कांग्रेस बृत्तमा चर्चा छ ।

सहमहामन्त्रीमा महिलातर्फ देउवा प्यानलकी महालक्ष्मी उपाध्यय (डिना) निर्वाचित भएकी छन् । उपाध्यायसँग कोइराला प्यानलकी कमला पन्त पराजित हुन पुगिन् । यसै गरी आदिवासी जनजातितर्फ भीष्मराज आङदम्बे, दलिततर्फ जीवन परियार, मधेशीतर्फ महेन्द्र यादव, खस आर्यतर्फ किशोरसिंह राठोर, थारुतर्फ उमाकान्त चौधरी, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रबाट बद्री पाण्डे निर्वाचित भएका छन् ।

देउवा समुहका आङदम्बेसँग कोइराला पक्षका विकास लामा, कोइराला पक्षका परियारसँग देउवा पक्षका मानबहादुर विश्वकर्मा, देउवा पक्षका चौधरीसँग कोइराला पक्षका तेजुलाल चौधारी, देउवा समुहका फर्मुल्लाह मन्सुरसँग पौडेल समुहका शेख वकिल र कोइराला समुहका बद्री पाण्डेसँग देउवा पक्षका जीवनबहादुर शाही पराजित भएका हुन ।

१४ औं महाधिवेशन नेपाली कांग्रेसका प्रतिनिधिहरुले फरक अभ्यास स्थिापित गरेका छन् । यो अधिवेशनमा प्रतिनिधिहरुले टिमभन्दा व्यक्तिको योग्यता र क्षमतालाई रोजेका छन् । राष्ट्रिय आवश्यकता बोध भएका नेताहरु महाधिवेशनले छनौट गरेको छ । संक्षेपमा भन्दा १४ औं महाधिवेशनले बोल्ड नेतृत्व र एक्सन ओरिएन्टेड पदाधिकारी चयन गरेको छ ।

१३ औं महाधिवेशनमा कोइराला परिवारका उत्तराधिकारी बनेर कांग्रेस पार्टीको नेतृत्व हत्याउन अग्रसर बनेका रामचन्द्र पौडेललाई पराजित गरेका देउवाले १४ औं महाधिवेशनमा डा. शेखर कोइरालालाई भारी मतान्तरले पराजित गरे । पहिलो चरणको निर्वाचनमा करिव ४९ प्रतिशत मत प्राप्त गरेका देउवाले दोश्रो चरणमा ६० प्रतिशत मत प्राप्त गरे ।

सभापतिको पहिलो चरणको निर्वाचनमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङबीच प्रतिस्पर्धा भएको थियो ।

१३ औं महाधिवेशनमा पनि पहिलो चरणमा ५१ प्रतिशत नपुगेपछि दोश्रो चरणको प्रतिस्पर्धामा देउवा पौडेलविरुद्ध निर्वाचित भएका थिए । १३ औं महाधिवेशनमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाबीच प्रतिस्र्धा भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *