काठमाडौं ।नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्माले जित्ने पक्का भएको छ।मतगणना अन्तिम चरणमा प्रवेश गर्दा गगन झन्डै २ तिहाइ मत ल्याएर विजयतर्फ अग्रसर छन् भने विश्वप्रकाशले पनि तेस्रो स्थानमा रहेका उम्मेदवार प्रकाशशरण महतसँग मतान्तर बढाएका छन्।
अहिलेसम्म ४३९० मत गन्दा गगनले २८२३ मत पाएका छन्। यो मत १४ औं महाधिवेशनमा कुनै उम्मेदवारले अहिलेसम्म पाएको मतमध्ये सर्वाधिक हो।
दोस्रो चरणमा सभापति जितेका प्रधानमन्त्री शेरबहादुर देउवाले २७३३ मत पाएका थिए।उपसभापतिमा सबैभन्दा बढी मत पाएका पूर्णबहादुर खड्काले २१२१ मत पाएका थिए।
महामन्त्रीमा अर्का उम्मेदवार विश्वप्रकाश शर्मा पनि जितनजिक पुगेका छन्। उनले १८२४ मत पाएका छन्।तेस्रो स्थानमा रहेका प्रकाशशरण १४५५ मत पाएका छन् भने प्रदीप पौडेलले १३०३ मत ल्याएका छन्। मीनेन्द्र रिजालको ७५३ र राजाराम कार्कीको १०० मत आएको छ।
महामन्त्रीको मतगणना सकिएपछि सहमहामन्त्रीको मतगणना हुनेछ।पदाधिकारीको मतगणना सकिएपछि केन्द्रीय सदस्यको मतगणना हुनेछ।
कांग्रेस विधानमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ।
सभापति शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल छन् भने डा. शेखर कोइराला समूहबाट गगन थापा र मिनेन्द्र रिजाल मैदानमा छन्।
यस्तै प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्की महामन्त्रीको उम्मेदवार छन्।
यसअघि सभापति र उपसभापतिको मतगणना सकिएको छ। सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का तथा धनराज गुरुङ निर्वाचित भएका छन्।




