काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत अहिलेसम्म ३२ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ । जसमध्ये तीनवटा जिल्लामा मत परिणाम आउन बाँकी छ । खोटाङ, ओखलढुंगा र पर्वत जिल्लाको मत गणना जारी छ । सोलु र डोटीमा दोस्रो चरणको हुने भएको छ ।
एक निर्वाचन क्षेत्र भएका जिल्लामध्ये धनकुटामा दुई पक्षबीच विवाद भएपछि जिल्ला अधिवेशन हुन सकेको छैन । सहमति गरेर प्रदेश अधिवेशन सकिएपछि जिल्ला अधिवेशन गर्ने कसरतमा नेताहरु लागेका छन् । बागमति प्रदेशको रसुवामा स्थानीय तहको अधिवेशन मात्र भएको छ । सुदूरपश्चिमको दार्चुलामा अधिवेशन हुन सकेको छैन । दार्चुलामा भोलि बिहीबार निर्वाचन हुने तयारी छ ।
प्रदेश २ को ३२ वटा निर्वाचन क्षेत्र र रसुवा, धनकुटा, सिन्धुपाल्चोक, दार्चुलामा अधिवेशन हुन सकेको छैन । प्रदेश २ मा पूर्वनिर्धारित कार्यतालिका अनुसार अधिवेशन हुन सकेन । कार्यतालिका अनुसार मंसिर ६ गते नै स्थानीय तहमा अधिवेशन हुनुपर्ने थियो । अहिलेसम्म १ सय २८ प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको छ । ३७ निर्वाचन क्षेत्रमा अधिवेशन हुन बाँकी छ ।
गण्डकी, लुम्बनी र कर्णाली प्रदेशमा एक निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको छ । सम्पन्न जिल्ला अधिवेशनबाट १५ जिल्लामा संस्थापन, ११ जिल्लामा पौडेल/कोइराला समूह र एक जिल्लामा गगन थापा समूह विजयी भएका छन् ।





