देश

काठमाडौं–तराई द्रुतमार्गको जग्गा अधिग्रहण तथा मुआब्जा वितरण ९१.५ प्रतिशत सकियो

काठमाडौं । काठमाडौं–तराई द्रुतमार्ग आयोजनाको जग्गा अधिग्रहण तथा मुआब्जा वितरण ९१.५ प्रतिशत सकिएको छ । नेपाली सेनाले आव ०७७–७८ को भौतिक र वित्तीय प्रगति विवरण सार्वजनिक गर्दै यस्तो जनाएको हो ।

खोकना–बुङमति इलाकामा रहेको जग्गा विवाद समाधान गर्न राष्ट्रिय योजना आयोगको संयोजकत्वमा समन्वय उप–समिति गठन गरी आवश्यक समन्वय तथा पहल भइरहेको छ ।

आयोजनाको समष्टिगत भौतिक प्रगति १६.१ प्रतिशत र वित्तीय १४.५१ प्रतिशत लक्ष्य हासिल भएको छ । आयोजनाको कूल कार्यको १६.२१ प्रतिशत प्रगति हासिल गर्ने लक्ष्य प्रक्षेपण गरिएको थियो ।

गत आव ०७७–७८ मा आठ अर्ब ९६ करोड ८८ लाख विनियोजन वार्षिक वित्तीय प्रगति ९७.३४ प्रतिशत रहेको नेपाली सेनाले जनाएको छ । सेनाको निर्माण व्यवस्थापनमा अघि बढेको उक्त आयोजनाको महत्वपूर्ण संरचनाको रुपमा रहेका दुवै सुरुङ ठेक्कापछिको कार्य प्रारम्भ गरिएको छ ।

आयोजनाको डिजाइन तथा कन्स्ट्रक्सन सुपरभिजनको लागि अन्तर्राष्ट्रिय परामर्शदाता तथा स्थानीय विषयविज्ञ छनोट गरी सर्भेलगायतका कार्य सुचारु गरिएको छ । हाल उक्त परामर्शदाताबाट टोली प्रमुख, आयोजना समन्वयकर्ता, सुरुङ इञ्जिनीयर्स, सडक इञ्जिनियर्स, पुल इञ्जिनियर्स, वरिष्ठ भूगर्भशास्त्रीले कार्य प्रारम्भ भइसकेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *