देश

ओलीलाई कांग्रेस प्रवक्ता शर्माको जवाफ, समस्या कालो कोटमा होइन, कालो सोचमा

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पछिल्लो समय आफ्नो पदीय मर्यादा बिर्सन थालेका छन् । के बोलन हुने हो, के होइन भन्नेसम्मको हेक्का उनले राख्न छाडेका छन् ।

ओलीले सोमबार संसद् विघटनसम्बन्धी मुद्दाको बहसमा सहभागी विपक्षी वकिलको आलोचना गरेपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ । सरकार प्रमुख भएर जे पनि बोल्ने भन्दै उनको आलोचना भइरहेको हो ।

यही क्रममा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ओलीको भनाइप्रति प्रतिवाद गरेका छन्। विपक्षी गठबन्धन तर्फका अधिवक्ताहरूले सर्वोच्च अदालतले गठन गरेको संवैधानिक इजलासप्रति प्रश्न उठाएपछि ओलीले ‘कालो कोटधारी’ ले तामासा देखाएको आरोप लगाएका थिए।

यसैको प्रतिवाद गर्दै कांग्रेस प्रवक्ता शर्माले समस्या कालो कोटमा होइन, कालो सोचमा भएको टिप्पणी गरेका हुन्। ‘अरू बोले अराजक अभिव्यक्ति, आफू बोले अभिव्यक्ति स्वतन्त्रता,’ प्रवक्ता शर्माले भनेका छन्, ‘विवेक बोल्ने पूर्व प्रधानन्यायाधीशहरू आउटडेटेड अनि आफ्नो आउटडेटेड राजनीतिक दर्शन चैं दिव्यज्ञान ?’

उनले प्रधानमन्त्रीजस्तो उच्च पदको गरिमा खस्काउने अभिव्यक्ति नदिन पनि ओलीलाई चेतावनी दिएका छन्। ‘सम्माननिय व्यक्तिको पहिचान अभिव्यक्तिमा हुन्छ, देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रोकौं अब,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्। प्रधानमन्त्री ओलीले संसद् विघटनविरुद्ध अभिव्यक्ति दिने पूर्वप्रधानन्यायाधीशहरूको पनि आलोचना गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *