काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने विदेशीहरूको पिसिआर परीक्षण नगर्न सबै प्रयोगशालाहरूलाई निर्देशन दिएको छ।
मन्त्रालयले आइतबार सूचना जारी गर्दै यसरी परीक्षण गर्न आएकाहरूबाट संक्रमण जोखिम बढेको ठहर गरेको छ। त्यस्ता मानिसहरूको कुनै प्रयोगशालाले परीक्षण गरेमा नियमअनुसार कारवाही गरिने मन्त्रालयले जनाएको छ।
पछिल्लो समय भारतमा संक्रमण दर उच्च भएका कारण विभिन्न मुलुकहरूले हवाइ सेवा बन्द गर्दा त्यहाँका मानिसहरू नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने गरेका छन्। त्यसरी आएका मानिसहरूले नेपालमा पनि पिसिआर परीक्षण गराउँदै आएका थिए।
स्वास्थ्य मन्त्रालयले अहिलेकै दरमा कोरोना भाइरस सङ्क्रमित थपिएमा केही दिनभित्रै अस्पतालमा बिरामी राख्ने ठाउँसमेत नहुने चेतावनी दिएको छ । मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गर्दै सङ्क्रमणको चक्र रोक्न नसकिएमा केही दिनभित्रै अस्पतालमा बिरामी राख्ने ठाउँ नहुने चेतावनी दिएको हो ।
कोरोना सङ्क्रमितको उपचारका लागि कुनै पनि औषधि उपाय विकास नभइसकेकाले अहिलेका लागि रोकथाम गर्न सरकारले तोकेका मापदण्डहरू नै निर्विकल्प रहेको मन्त्रालयले जनाएको छ ।





