देश

ओम्नी च्याप्ने पर्यटनमन्त्री भानुभक्त ढकालको पद धरापमा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री भानुभक्त ढकालको पद धरापमा परेको छ । संसदको लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको भन्दै छानबिन गरी कारबाही गर्न पत्र लेखेपछि ढकाल तनावमा परेका हुन् ।

कोभिड माहामारी फैलिएको समयमा नेपालले चीनबाट स्वास्थ्य सामग्री खरिद गरेको थियो । जसको जिम्मेवारी ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसनल कम्पनीले पाएको थियो ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ओम्नीमार्फत खरिद गरिएका स्वास्थ्य सामग्री तथा खरिद प्रक्रिया नै गलत भएको ठहर गर्दै सार्वजनिक लेखा समितिको सोमबार बसेको बैठकले अख्तियार दुरुपायेग अनुसन्धान आयोगको सचिवलाई पत्र लेखी दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो। खरिद प्रक्रिया र समयमा सप्लाइ गर्न नसकेको विषयमा स्वास्थ्य विज्ञहरुले तत्कालै टिप्पणी गर्नुका साथै खरिद प्रक्रियामा घोटाला भएको भन्दै विरोध जनाएका थिए।

गत वर्षको माघ २९ गोरखापत्रमा सूचना प्रकाशित गरी छिटो विधिबाट अति आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न अघि बढाएको प्रक्रिया नियमसंगत देखिए पनि कार्यान्वयन गर्ने पाटोमा भने अनियमितता देखिएको उल्लेख छ ।

तर, सोही प्रकृतिका सामग्री खरिद गर्न अर्को प्रक्रिया अघि बढाउँदा विशेष परिस्थिति जनाई नोबल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गत वर्षको चैत ११ को निर्णयलाई आधार मानी बजेट तथा लागतको अनुमान तयार नगरी सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद नियमावलीविपरीत अख्तियार प्राप्त अधिकारीहरुले आफूमा निहित अधिकार प्रयोग नगरी अन्य व्यक्तिलाई खरिद कार्यमा संलग्न गराई अख्तियार दुरुपयोग गरेको अभियोग समितिले लगाएको छ।

गत पुस ३ गते बसेको समिति बैठकले औषधि खरिदमा भएको अनियमितता सम्बन्धमा तत्कालीन स्वास्थ्यमन्त्री ढकाललाई बोलाएर स्पष्टीकरणसमेत सोधेको थियो। गत वर्षको चैतमा स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सामग्री खरिदका लागि ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसनललाई एक अर्ब २४ करोडको ठेक्का दिएको थियो।

यसअघि ओली सरकारका सञ्चारमन्त्री गोकुल बास्कोटा कमिसन बार्गेनिङ काण्डमा पदच्युत भएका थिए । अब स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको आरोपमा प्रधानमन्त्री केपी ओलीका अर्का विश्वासपात्र मन्त्री ढकाल पनि संकटमा परेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *