काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले नै पार्टी फुटाउने दाबी गरेका छन् । मंगलबार राष्ट्रिय सभागृहमा आयोजित अनेरास्ववियुको राष्ट्रिय कार्यकर्ता भेलामा नेता नेपालले केपी ओलीसँग आत्मसमर्पण नगर्ने बताए ।
‘माधव नेपाल अलमल र द्विविधामा पर्दैन, चुनौतीको सामना गर्दै अगाडि बढ्छ। कस्ता कस्ता कहाँ हराए, केपी ओली मेरो सामुन्ने। केपी ओलीसँग डराउने कुरा छैन। ओलीको दुई दिनको चुरी फुरी प्रधानमन्त्रीको कुर्सीबाट उत्रिनेबित्तिकै सकिन्छ, उनको हावा खुस्किन्छ,’ उनले भने ।
नेता नेपालले ओलीको चुरीफुरी प्रधानमन्त्रीको कुर्सीमा बसुञ्जेल भएकाले उनको ‘टाङमुनि नछिर्ने’ उद्घोष गरे ।
उनले केहीले माधव नेपाल अलमलमा परेको भन्ने टिप्पणी गर्न थालेको भन्दै आफूलाई चिन्न पनि आग्रह गरे । ‘पत्रकार मित्रहरू, तपाईंले मलाई चिन्नुभएकै रहेनछ । राजासँग कसरी डिल गरियो, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईसँग कसरी डिल गरियो, मैले भन्न बाँकी नै छ,’ उनले भने, ‘हामी मैदान छाडेर भाग्दैनौँ । पार्टी हामी फुटाउँदैनौँ । केपी ओलीले फुटाउँछन् ।’




