काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ ।
बिहीबार बिहान १० बजे बोलाइएको संसदीय दलको बैठक माधव नेपाल, झलनाथ खनाल समूहका सांसद आउने भनेर ढिला गरिएको थियो । तर, सो पक्षका सांसद नआएपछि केही समयअघिबाट सुरु भएको छ ।
बैठकका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका सवै सांसदहरुलाई सूचना गरिएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् ।

नेकपाको नामबारे उत्पन्न विवादमाथि सर्वोच्च अदालतको फेसलाबाट पूर्ववत् नेकपा एमाले ब्युँतिएपछि एमाले संसदीय दलको बैठक पहिलोपटक बस्न लागेको हो ।
माधव, झलनाथ र वामदेव गौतम पक्षका सांसद नआउने भएपछि बैठक अघि बढाइएको छ । एमालेको राष्ट्रिय सभा र प्रतिनिधिसभा गरी डेढ सय सांसद छन् ।
एमालेका सांसदहरू लालबाबु पण्डित, तुलसी थापा र गंगा चौधरी लगायत संसदीय दलको बैठकका लागि बालुवाटार पुगेका छन् । यसअघि कतै पनि सहभागी नभएका लालबाबु पण्डित संसदीय दलको नेता प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा सहभागी भएका हुन् ।




