ललितपुर । नेपाल कम्युनिस्ट पार्टी एमालेको नेपाल समूहले काठमाडौंमा जारी राष्ट्रिय कार्यकर्ता भेलाबाट आउँदो तीन महिनाको कार्यभार बनाउने भएको छ ।
सानेपास्थित हेरिटेज गार्डेनमा भइरहेको बृहत् राष्ट्रिय कार्यकर्ता भेलाले वर्तमान राजनीतिक अवस्थामा पार्टीलाई एकताबद्ध गर्दे स्वेच्छारी शक्तिको विरुद्ध लड्ने रणनीति तय गर्न लागेको जनाइएको छ ।
बुधवार सुरु भेलामा पहिलो दिन सहभागीलाई विभिन्न १० वटा समूहमा विभाजन गरेर समूहगत छलफल गरिने छ । १० वटै समूहमा उठेका सुझावलाई एकीकृत गरी बिहीवारको बैठकमा प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
बैठकले प्राप्त सुझावका आधारमा आउँदो तीन महिनाका लागि कार्यभार बनाउने र त्यसलाई सभाले पारित गर्ने नेता गंगालाल तुलाधरले जानकारी दिए । मूलभूत रूपमा वर्तमान परिवेशमा पार्टी एकता कायम गरी नेतृत्वको स्वेच्छाचारी कदम विरुद्धका अन्तरसङ्घर्षहरूलाई रणनैतिक रूपमा कार्यभारमा समावेश गरिने पनि उनले बताए ।
सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेलाई फेरि सक्रियताका साथ अगाडि बढाउने जिम्मेवारी काँधमा आएका बेला पार्टी अध्यक्ष केपी ओलीको क्रियाकलापले पार्टी एकता भाँडिने सङ्केत देखिएकाले आफूहरू कार्यकर्ता भेला गरी उनीहरूको सुझावका आधारमा पार्टी एकताको पक्षमा अघि बढ्ने निष्कर्षमा पुगेको उनको भनाइ छ ।
‘एकपक्षीय ढंगले स्वेच्छाचारी, दम्भ र घमण्डी स्वभावलाई देखाउँदै पार्टी अध्यक्ष केपी ओलीले जुन प्रकारका हर्कतहरू देखाउन थाल्नुभयो, त्यसले पार्टी एकता भाँडिने सङ्केत देख्यौँ । पछिल्लो शृङ्खला भनेको २८ गते केन्द्रीय पदाधिकारीको जिम्मेवारी खोस्ने, एकपक्षीय रूपबाट पदाधिकारी सदस्य थपेको घोषणा गर्ने र कैयौँलाई पार्टी जिम्मेवारीबाट हटाउने र कारबाही गर्ने भन्ने स्थिति आएपछि हामी पार्टी जोगाउने हो भने स्वेच्छाचारी कदमको विरोधमा उत्रनु पर्दछ भन्ने निष्कर्षमा पुग्यौँ,’ उनले भने, ‘यो पार्टीलाई एकताबद्ध गरेर लैजाने हो भने हैकमवादी प्रवृत्तिबाट पार्टीलाई जोगाउनुपर्छ । त्यस्तो खालको कुरा महसुस भइसकेपछि हामी यो ठाउँमा आइपुगेका हौँ ।’
उनले एकताका साथ अघि बढ्नका लागि भेलाले ऊर्जा दिने विश्वास आफूहरूले लिएको बताए । भेलामा भएको कार्यकर्ताको उपस्थितिले पार्टी अध्यक्ष ओलीको काम कारबाहीहरू कुनै पनि हालतमा सर्वस्वीकार्य छैन र विरोधयोग्य छ भन्ने सन्देश पनि देशव्यापी रूपमा प्रवाहित गरेको दाबी गरे । पार्टी अध्यक्षले गुटगत भेलामा सहभागी भए कारबाही गर्ने बताइरहेका बेला पार्टी एकताका लागि जुनसुकै परिणाम भोग्ने मानसिकतामा नेता तथा कार्यकर्ता भेलामा सहभागी भएको पनि उनले बताए ।
‘उहाँले कति कारबाही गरेर जानुहुन्छ, त्यो पनि हामी हेर्नेवाला छौँ । हामी उहाँलाई भन्न चाहन्छौँ– तपाईँ कारबाही गरेर देखाउनुहोस् । आजदेखि हामी कारबाहीका लागि लामबद्ध हुँदैछौँ, २५ सय कार्यकर्ताहरू यहाँ लामबद्ध भएर । केपी ओली कमरेडलाई हामी भन्न चाहन्छौँ– तपाईँ कारबाही गरेर देखाउनुहोस् । कारबाही गर्दै जाने हो भने त उहाँ पनि बाँकी रहनु हुन्न नि त । उहाँ भोलि गएर ऐया पनि भन्न नसक्ने अवस्थामा पुग्नु हुन्छ,’ तुलाधरले भने ।
उनले बृहत्तर वामपन्थी एकताबाट च्युत हुनु हुँदैन भन्ने मानसिकताले आफूहरू अगाडि बढ्दै गरेको अवस्थामा अध्यक्ष ओलीबाट एमाले पनि एकताबद्ध भएर अघि बढ्न नसक्ने परिस्थिति सिर्जना हुनु दुःखद भएको प्रतिक्रिया दिए । विभाजित हुन नपरोस् भन्ने मनोविज्ञान कार्यकर्तामा देखिएको भए पनि नेतृत्वले विभेदपूर्ण व्यवहार गरेकाले समस्या भएको भन्दै नेता तुलाधरले कुनै पनि कार्यकर्ता नेतृत्ववाट अपमानित भएर बस्न नसक्ने बताए ।




