काठमाडौं । एमालेको माधव–झलनाथ पक्षको राष्ट्रिय कार्यकर्ता भेला जारी छ । बुधबार बिहानदेखि सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको भेलामा नेताहरूले बोल्ने क्रम जारी छ ।
भेलाको अध्यक्षता गर्दै पूर्वप्रधानमन्त्री झलनाथ खनालले अध्यक्ष केपी ओलीले पार्टीलाई विभाजन र विसर्जनतर्फ लैजाने दुष्प्रयास गरेको आरोप लगाए । उनले सर्वोच्च अदालतले एमाले ब्युँताइदिएपछि विधान र नवौं महाधिवेशनको निर्णयअनुसार अगाडि बढ्नुपर्नेमा जथाभावी निर्णय गरेको बताए ।
‘केपी ओलीले जुन ढंगले त्यो काम गर्नुभएको छ । पार्टीलाई विभाजन र विसर्जनतर्फ लैजाने दुष्प्रयास गर्नुभएको छ । यसले पार्टीमा रोष पैदा भएको छ,’ उनले भने ।
एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई आफूहरूको भेलामा आउन आग्रह गरेकी छिन् । उनले २८ फागुनमा विधान विपरीत गरेको निर्णय फिर्ता लिएर भेलामा आउन आग्रह गरेकी हुन् ।

‘कमरेड केपी ओलीजीलाई म अनुरोध गर्न चाहन्छु । २८ फागुनको निर्णय विधान विपरीत छ । त्यो गुटको भेलाबाट गरेको निर्णय फिर्ता लिएर यो भेलामा आउनुस् अझै समय छ,’ शाक्यले भनिन् ।
उनले गुटको भेलाबाट अध्यक्ष र महासचिवमात्रै राखेर पदाधिकारीलाई हटाउने काम विधानसम्मत नभएको बताइन् । शाक्यले आफूहरूको भेला गुटको भेला नभएको पनि दाबी गरिन् । ‘यो गुटको भेला होइन, कोही नडराउनुस,’ उनले भनिन्,‘ यो एमालेको राष्ट्रिय भेला हो । कसैको धम्कीबाट तपाईंहरू डराउनु पर्दैन,’ उनले भनिन् ।
नेतृ शाक्यले प्रधानमन्त्री ओलीसँग नैतिकता भन्ने केही बाँकी नरहेको उल्लेख गरिन् । यदि ओलीसँग नैतिकता हुन्थ्यो भने सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेलगत्तै पदबाट राजीनामा दिनुपर्ने उनको भनाइ थियो ।




