काठमाडौं । एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले चैत ४ र ५ गते बोलाएको राष्ट्रिय भेलामा पेस गर्ने राजनीतिक प्रतिवेदन तयार पारेको छ । एमाले उपमहासचिव घनश्याम भुसाल र पोलिटब्युरो सदस्य बेदुराम भुसालले प्रतिवेदन तयार पारेका हुन् । प्रतिवेदनलाई आज बस्ने स्थायी समिति बैठकले अन्तिप रुप दिने बताइएको छ ।
प्रतिवेदनमा पार्टी के कारणबाट पार्टी अहिलेको अवस्था सम्म आइपुग्यो ? भोलिको कार्यदिशा के रहने र बामपन्थी शक्तिविचको एकताको सम्भावनालगायत विषयहरु समेटिएको नेताहरुले जानकारी दिएका छन् ।
ललितपुरको सानेपास्थित हेरिटेज ब्यांक्वेटमा हुने भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्यहरु, संघीय र प्रदेश सांसदहरु, जिल्ला कमिटीका पदाधिकारीहरु, प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरु, पालिकाहरुमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, पालिकाका पार्टी कमिटीका पदाधिकारीहरु, जनवर्गीय संगठनका केन्द्रीय कमिटी सदस्यहरु, प्रदेश पदाधिकारीहरु केन्द्रीय विभागका सदस्यहरु र जिल्ला अध्यक्षहरुलाई बोलाइएको छ ।
सोमबार ओली र नेपाल पक्षबीच भएको छलफलमा प्रधानमन्त्री ओलीले चैत ४ र ५ गतेको राष्ट्रियभेलाले पार्टी विभाज तर्फ लाने भन्दै उक्त भेला स्थगित गर्न आग्रह गरेका थिए । नेपाल पक्षले फागुन २८ को एकतर्फी निर्णयले पार्टी विभाजनको रेखा कोरेको भन्दै फागुन २८ गते भएको निर्णयहरु फिर्ता नलिएसम्म भेला स्थागित गर्न नसकिने जवाफ दिएका थिए । बैठकमा दुवै पक्ष आआफ्नो अडानमा कायम रहेपछि सहमति हुन सकेन।
फागुन २८ गते प्रधामन्त्री ओलीले एमाले अध्यक्ष र महासचिवबाहेकका पदाधिकारीको पद खारेज गर्दै नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोस्ने र माओवादी केन्द्रबाट पार्टीमा आएका नेताहरुलाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।
सत्तारुढ एमालेमा देखिएको किचलो झन् झन् बढ्ने संकेत देखिएको छ । प्रधानमन्त्री केपी ओली आफ्नै निर्णयका कारण संकटमा परेका हुन् । उनले चालेका हरेक गतिविधिको सशक्त प्रतिवाद गर्ने माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको तयारी छ ।




