काठमाडौं । झन्डै चार महिनादेखि प्रधानमन्त्री केपी ओली र माधव नेपालबीच बोलचाल बन्द थियो । ओलीले पुस ५ गते अचानक प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि दुईबीच तिक्ततापूर्ण अवस्था बनेको थियो ।
तर, एकाएक सोमबार बिहान ओलीले माधव नेपाललाई भेट्न बालुवाटार बोलाए । तर नेपालले बालुवाटार आउन नसक्ने भनेपछि धुम्बाराहीमै भेट्न ओली सहमत भए । पार्टीमा मात्र होइन, सरकारबाट पनि बिदा हुने अवस्थामा पुगेपछि ओली गलेका थिए । त्यसैले ओलीलाई माधव नेपालसँग भेटेर वार्ता गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र अर्थमन्त्री विष्णु पौडेलको विशेष भूमिका रहेको बताइएको छ ।
प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न आइतबार साँझ शीतल निवास पुगेका थिए । पार्टी र सरकारमा संकट आएमा ओली सल्लाह र सुझाव लिन भण्डारीकहाँ पुग्ने गरेका छन् । राष्ट्रपति भण्डारीले नै माधव नेपालसँग भेटेर छलफल गर्न सुझाएको स्रोतले बतायो ।
राष्ट्रपति भण्डारीले ओली र नेपाल दुवैसँग सामूहिक भेट्ने प्रस्ताव गरेको बताइन्छ । तर, नेता नेपालले अस्वीकार गरेपछि ओलीले सोमबार बिहानै फोन गरेर धुम्बाराहीमा भेट गरेका हुन् ।
माधव नेपाल पक्षले बुधबार र बिहीबार राष्ट्रिय कार्यकर्ता भेला डाकेपछि ओली अप्ठेरोमा परेका थिए । उनी कुनै पनि हालतमा सो भेला रोक्न चाहन्थे । सोही कारण उनले मंगलबार केन्द्रीय सदस्यका लागि चियापान कार्यक्रम आयोजना गरेका छन् ।
यदि राष्ट्रिय कार्यकर्ता भेलाले एउटा निर्णय गरेमा ओलीको राजनीतिक भविष्य नै दाउमा लाग्ने भयले अर्थमन्त्री विष्णु पौडेल चिन्तित बनेका थिए । त्यसैले उनले नेता योगेश भट्टराईलाई फोन गरेर कुराकानी गरे । भट्टराईले सबै ओलीकै कारण बिग्रेको बताएपछि पौडेलले माधव नेपाललाई फोन गरेर आजको भेटवार्ता तय गरेको बताइएको छ ।
यद्यपि वार्ता फागुन २८ गते ओली पक्षले गरेको निर्णय खारेजमा गएर अड्किएको छ । तर, पनि बोलचाल नै नभएको र विभाजनको मुडमा रहेका एमाले नेतालाई एक ठाउँमा भने ल्याइदिएको छ ।




