रिबन

ओलीले भाषणमार्फत बालुवाटार बोलाउँदैमा माधव–झलनाथ समूह लुरुलुरु जाला ?

काठमाडौं । सत्तारुढ एमाले विभाजनको डिलमा पुगेको छ । प्रधानमन्त्री केपी ओली पक्षले एकलौटी केन्द्रीय समिति विस्तार गरेपछि पार्टी माधवकुमार नेपाल र झलनाथ खनाल समूहले काउन्टर दिँदै समानान्तर कमिटी गठन गरेपछि पार्टी विभाजन डिलमै पुगेको हो ।

माओवादी केन्द्रसँग तीन वर्षअघि एकता गर्दा सग्लै एमाले सर्वोच्च अदालतको फैसलापछि ब्युँतिदा चरम विवादमा परेको छ । सर्वोच्चले एमाले पुनःस्थापना गरेपछि पहिलेको मौजुदा कमिटी सग्लै हुनुपर्ने हो ।

तर, प्रधानमन्त्री ओलीले माओवादी केन्द्रबाट आएकालाई केन्द्रीय सदस्य मनोनीत मात्रै गरेनन्, माधव–झलनाथ समूहलाई बेवास्ता गर्दै जिम्मेवारी बाँडफाँट गरेपछि पार्टी विभाजनको दिशामा उन्मुख भएको छ । दुवै समूहले बेग्लाबेग्लै भेला र सम्मेलन बोलाएपछि अब पनि एमाले एउटै रहला ? भन्ने चासो देखिएको छ ।

यस्तो अवस्थामा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पेरिसडाँडाबाट रुवाबासी गर्दै बिदावारी भएर हिँडेकाहरुलाई पार्टीमा आउन प्रशस्त समय मिलोस् भनेर आफूले चैत ७ गते केन्द्रीय कमिटी बैठक बोलाएको टिप्पणी गरेका छन् ।

भृकुटीमण्डपमा शनिबार आयोजित अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले ७ गतेको बैठकको जानकारी पाइएन भन्न कसैले नपाउने भन्दै सार्वजनिक रुपमा बैठकको मिति र स्थान घोषणा गरे ।

‘उहाँहरु पेरिसडाँडाबाट भर्खर अर्याल होटलमा आइपुग्नुभएको छ रे । एक दुई रात त्यहाँ बास बसेर आउनुहोस् भनेर चैत ७ गते बालुवाटारमा बैठक बोलाएको छु । कसैले थाहा पाइनँ नभन्नुहोला । अनुपस्थित रहँदै जानुभयो भने विधान व्यवस्थाअनुसार हुँदै जानेछ,’ ओलीले चेतावनीयुक्त शैलीमा भने ।

ओलीले सार्वजनिक भाषणमार्फत बोलाउँदैमा विपक्षी समूह जालान् भन्नेमा कोही विश्वस्त छैनन् । किनभने एमालेको माधवकुमार नेपाल पक्षले बालुवाटरमा बस्ने बैठकमा नजाने निर्णय गरिसकेको छ । एमालेको विधानमा लगातार तीनपटक बैठकमा अनुपस्थित भएमा कारवाही हुने व्यवस्था छ । ओलीले त्यसतर्फ संकेत गरेका हुन् । प्रधानमन्त्री ओलीले आफूलाई माधव नेपालहरुले तीनपटक साधारण सदस्यबाट र अध्यक्षबाट निकालेको स्मरण गर्दै त्यसरी नै कारबाही गर्ने चेतावनी दिएका हुन् ।

‘बाटा बाटामा अध्यक्षको पगरी गुथेर हिँडेका छन् । यिनीहरुले मलाई तीन तीनपटक अध्यक्षबाट मात्र होइन, साधारण सदस्यबाट समेत निकालेका हुन् । देख्नुभयो नि, यिनीहरुले सक्ने भए के के गर्ने रहेछन्,’ उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *