काठमाडौं । फागुन ४ गते नेपाली सेनाका लागि सम्बोधन गर्दै थिए– नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरी । नेपाली सेनाको स्टाफ कलेज शिवपुरीमा विभिन्न ६ देशका सैनिकसामु उनको सम्बोधनमा नेपाली सेनाका लागि महत्वपूर्ण थियो ।
नेपालका लागि अमेरिकी राजदूत -याण्डी बेरीले नेपाली सेनालाई एशियाकै पुरानो सेना भएको बताएका मात्र थिएनन्, उनले नेपाली सेनाको ऐतिहासिक वर्णनसमेत गरे । कुनै पनि विदेशी कूटनीतिज्ञले नेपाली सेनालाई यसको प्राचीन ऐतिहासिकतालाई उल्लेख गर्दै पहिचान दिएको यो पहिलो अवसर हो ।
नेपाली सेनाको स्टाफ कलेज शिवपुरीमा विभिन्न ६ देशका सेनाका अधिकृतहरुलाई सम्वोधन गर्दै उनले नेपाली सेनाको ऐतिहासिक पक्षबारे बोल्ने क्रममा यस्तो धारणा राखेका हुन् । अमेरिकाजस्तो शक्ति राष्ट्रले पहिलोपल्ट नेपाली सेनको ऐतिहासिकतबारे यस्तो टिप्पणी गर्दै नेपाली सेनाप्रति उच्च सम्मान प्रकट गरेको हो ।
ऐतिहासिक तथ्यहरुका अनुसार, अमेरिकी सेनाको इतिहास सन् १७७५ देखि सुरु हुन्छ भने नेपाली सेना सन् १७४४ देखियता लगातार अविछिन्नरुपमा कार्यरत छ । यस हिसावले अमेरिकी सेना नेपाली सेनाभन्दा ३१ वर्षले कान्छो छ ।
सरस्वती पूजाकै दिन फागुन ४ गते मंगलबार स्टाफ कलेज शिवपुरीमा अतिथि बक्ताका रुपमा राजदूत बेरीले भने, ‘नेपाली सेना एशियाको र संसारभरिकै पुरानोमध्येको सेना हो। यसले लामो गौरव गाथा बोकेको र देशको एकीकरणमा उल्लेख्य योगदान दिएको इतिहासमा उल्लेख पाएको छु । नेपालमा मात्र होइन विश्वव्यापीरुपमा व्यवसायिक सेनका रुपमा परिचय दिन सफल भएको छ,’ उनले भने, ‘राष्ट्रसंघीय शान्ति सेनाका रुपमा दशकौं खटेर अन्तर्राष्ट्रिय शान्ति कायम गर्न ठूलो योगदान दिएको छ ।’
नेपाली सेना र यसको स्वदेशभित्रको भूमिका र विदेशमा शान्ति कायम गर्ने सन्दर्भमा खेलेको भूमिकाबारे अमेरिकाले यसरी पहिलोपल्ट खुलस्त रुपमा प्रशंसा गरेको हो ।
राजदूत बेरीले नेपाललाई एउटा अनुपम देश भन्दै यस्तो देशको सेना हुन पाउनु त्यहाँ काम गर्नेहरुका लागि गर्वको विषय भन्दै स्टाफ कलेजमा अध्ययनरत सैनिक अधिकृतहरुको मनोबल बढाएका थिए । उनले नेपाली सेना विश्वकै एउटा साहसीमध्येको सेना भएको बताएका थिए । बोल्नेक्रममा उनले प्रकृतिको संरक्षण र बन्यजन्तुको संरक्षणमा नेपाली सेनाले खेलेको भूमिकाको पनि उनले मुक्तकण्ठले प्रशंसा गरेका थिए ।




