रिबन

चिनियाँ खोप ‘भेरोसेल’ लाई नेपालमा प्रयोग गर्न अनुमति

काठमाडौं । सरकारले चिनियाँ खोपलाई नेपालमा प्रयोग गर्न अनुमति दिएको छ । बेइजिङ इनस्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट कर्पोरेसनले उत्पादन गरेको कोभिड १९ विरुद्धको खोप ‘भेरोसेल’ लाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको औषधि व्यवस्था विभागले जानकारी दिएको छ ।

विभागले जारी गरेको सूचनामा १६ जनवरी २०२१ मा सो खोपलाई अनुमति दिएको उल्लेख छ । तर खोपलाई आपतकालीन प्रयोगको अनुमति दिइएको जानकारी दिन प्रकाशित सूचनामा भने विभागका अधिकारीले बुधबार (१७ फेब्रुअरी २०२१) मा हस्ताक्षर गरेका छन् ।

चीनले नेपाललाई पाँच लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको छ । अनुमतिपछि चिनियाँ खोप नेपालमा ल्याएर प्रयोग गर्ने बाटो खुलेको छ । हाल नेपालमा भारतले अनुदानमा दिएको १० लाख डोज कोभिसिल्ड खोप प्रयोग हुँदै आएको छ ।

नेपालले २० लाख डोज खोप किन्ने तयारी गरेको छ । विश्व स्वास्थ्य संगठनले दिने कोभ्याक्स परियोजनामार्फत २० लाख डोज खोप आउँदैछ । फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई पनि खोप दिने सरकारको तयारी छ । त्यसैले केही समयपछि नेपालमा पनि मास भ्याक्सिनेसनको अवस्था आउने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *